काठमाडौं । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले करिब साढे सात वर्षपछि बैंकको सिइओ पदबाट राजीनामा दिएका छन् । न्यौपाने बैंकको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै कर्मचारी र बजारमा आशा जगाएका थिए । आन्तरिक लेखापरीक्षण विभाग प्रमुखबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका उनी चार्टर्ड अकाउन्टेन्ट पनि हुन् । बैंकका विभिन्न विभागमा अनुभवसहित उनले नेतृत्वको जिम्मेवारी सम्हालेका थिए ।

२०७५ मंसिर १६ मा न्यौपाने पहिलो कार्यकालका लागि सिइओ बने । बैंकको अवस्था त्यतिबेला उदाउँदो र जोसिलो थियो । कर्मचारीहरू उत्साहित थिए, ग्राहकहरूले अपेक्षा राखेका थिए र बैंकले बजारमा सकारात्मक छवि बनाएको थियो ।
तर, न्यौपानेको पहिलो कार्यकालको अवधिभर बैंकले मनलाग्दी कर्जा वितरणमा जोड दियो । बैंकलाई अग्रणी बनाउने दाबीमा विस्तार गरिएको कर्जा, जहाँ वित्तीय मापदण्ड र जोखिम मूल्यांकनमा पर्याप्त सावधानी पुगेको थिएन । न्यौपानेको त्यो निर्णय नै बैंकका लागि बोझमा परिणत भयो ।
आव २०७४–७५ को वित्तीय विवरणअनुसार बैंकको निष्क्रिय कर्जा अनुपात ०.२९ प्रतिशत मात्र थियो । त्यसपछि केही वर्षमा यो अनुपात बढ्दै बढ्दै हाल ६.२८ प्रतिशतसम्म पुगेको छ । यसले स्पष्ट देखाउँछ कि बैंकले दिएको मनलाग्दी कर्जा असुली गर्न असफल भएको छ । नाफामा पनि करिब ७७ प्रतिशत गिरावट आएर १६ करोड १५ लाखमा सीमित भयो ।
अघिल्लो आवमा बैंकले ७० करोड १४ लाख खुद नाफा कमाएको थियो । अधिकांश बैंकले नाफा बढाएको अवस्थामा एनआइसी एसियाको नाफामा यत्रो ठूलो गिरावट हुनु गम्भीर चिन्ताको विषय हो ।
ग्राहकहरू पनि पछिल्ला वर्षमा निरन्तर कमजोर वित्तीय विवरण र बैंकको असफलताप्रति चिन्तित बनेका छन् । सामाजिक सञ्जालदेखि बैंकिङ विशेषज्ञहरू सम्ममा ग्राहकले ‘हामीले निक्षेप के गर्ने ?’ भन्ने प्रश्न उठाउन थालेका छन् । विगतमा कर्जा मनलाग्दी बाँड्ने अभ्यासले बैंकलाई संकटमा पु¥याएको र अहिले पनि बैंकले सुधारका लागि ठोस कदम नचालेको भन्ने तथ्यांकले पुष्टि गरेको छ ।
यसबाहेक व्यवस्थापकीय कमजोरी, जोखिम नियन्त्रणको अभाव र वित्तीय नियमनसँग मेल नखाने निर्णयहरूले बैंकलाई अझ कमजोर बनाएको कर्मचारी र स्रोतहरूले बताएका छन् ।
न्यौपानेको राजीनामापछि बैंक सञ्चालक समितिले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोस राठीलाई कामु सिइओको जिम्मेवारी दिएको छ । न्यौपानेले पारिवारिक कारण देखाउँदै पद छोडेको बताए पनि उनका कार्यकालका वित्तीय र व्यवस्थापकीय असफलताले बैंकको छवि र ग्राहकको विश्वासमा गम्भीर असर पु¥याएको छ । अब बैंक सुधारको लागि अब नयाँ नेतृत्वले लिने निर्णय, स्पष्ट रणनीति र जोखिम नियन्त्रणका उपायहरूमा भर पर्ने देखिन्छ ।
एनआइसी एसियालाई सुधार्नुको साटो झन् बिगार्ने काम गरेको आरोप खेप्दै आएका न्यौपानेले राजीनामा दिएपछि अब बैंक सुध्रन्छ कि सुध्रदैन ? यो प्रश्न मुख्य बनेको छ । एनआइसी एसिया बैंकका अध्यक्ष समेतलाई प्रभावमा पारेर न्यौपानेले गरेको वित्तीय ज्यादतीले निरन्तरता पायो भने बैंक सुध्रनुको साटो झनै धराशायी बन्ने जानकार बताउँछन् ।
तर, विगतका गल्तीको बोझले मात्र होइन, नयाँ नेतृत्वको सक्रियता र नियमनको प्रभावले मात्र बैंकलाई पुनः स्थिर र विश्वसनीय बनाउने सम्भावना देखिन्छ । राष्ट्र बैंक मौन बसेको, राजनीतिक प्रभाव रहँदै आएको अवस्था र व्यवस्थापकीय कमजोरीले गर्दा बैंक सुधारमा ढिलाइ भएको देखिन्छ । अब नयाँ सिइओले कसरी काम गर्छन्, त्यसले मात्रै एनआईसी एसियाको भविष्य टुंगो लाग्ने जानकारहरू बताउँछन् ।











