काठमाडौं । नेकपा एमालेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई नै बोकेर अघि बढ्ने कि रोक्ने भन्नेमा दोधारमा रहेका छन् । भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशनले ओलीलाई तेस्रो कार्यकालका लागि बाटो खोलेपनि जेनजी आन्दोलनपछि नेताहरू दोधारमा परेका हुन् ।

एमाले मुख्यालय च्यासलमा शुक्रबार संविधान दिवस मनाउँदा भने वरिष्ठ उपाध्यक्षलाई जिम्मेवारी दिएको देखिएन । सेनाको ब्यारेकबाट फर्किए पनि पार्टी अध्यक्ष ओली पार्टी कार्यक्रममा अनुपस्थित रहेपछि त्यहाँ पार्टी अध्यक्ष नहुँदा वरिष्ठ उपाध्यक्षले स्वतः नेतृत्व लिनुपर्नेमा ईश्वर पोखरेललाई पाखा लगाएर उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई अघि सारियो । शाक्यको नेतृत्व झल्किने गरी पहिलो औपचारिक कार्यक्रम गरेर पार्टी संस्थापनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहलाई भने पाखा लगाइएको सन्देश दिएको थियो ।
संस्थापन पक्षले ईश्वर पोखरेललाई पाखा लगाएर उनको अस्तित्व स्वीकार्न नचाहेको सन्देश दिएको छ । अध्यक्ष ओली अनुपस्थित हुनु र वरियता मिचेर शाक्यको अध्यक्षतामा कार्यक्रम गरेर एमाले संस्थापनले अघोषित रूपमा परिआए विकल्पमा शाक्यलाई अघि सार्ने सन्देश दिएको छ । अन्य नेताहरुले यो विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन ।
एमालेमा नेतृत्व हस्तान्तरण पेचिलो बनेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा फर्किन रोक्ने निर्णयपछि संस्थापन र इतर समूहहरू एकअर्काविरुद्ध उत्रिएको बेला परिस्थिति ओलीको प्रतिकूल गएको छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य कर्ण थापालगायत नेताहरूले पार्टीका हरेक बैठकमा फरक मत राख्दै आएका थिए । गत भदौ २०–२२ मा भएको विधान महाधिवेशनमा नेता थापाले सो समूहका तर्फबाट फरक प्रस्ताव पेस गरेका थिए । विधान महाधिवेशनले आगामी नेतृत्वका लागि ओलीलाई नै निर्विकल्प बनाउने तयारी गरे पनि जेनजी आन्दोलनले सो योजनालाई धक्का दिएको छ ।
आन्दोलनपश्चात् सार्वजनिक कार्यक्रममा नदेखिएका ओलीले संक्रमणकालीन अवस्थासम्म उपाध्यक्ष शाक्यलाई अघोषित कार्यभार दिएर जाने संकेत गरेका छन् । तर त्यस्तो अवस्थामा पार्टीभित्र थप समस्या उत्पन्न हुने एमाले संस्थापन इतरका नेताहरूले बताएका छन् । जेनजी आन्दोलनका घाइते भेट्न पूर्वराष्ट्रपति भण्डारीको दौडधुप बढ्दै जाँदा ओलीमाथि तत्काल नेतृत्व छाड्न दबाब बढ्ने कतिपय नेताहरूले दाबी छ ।
जेनजी आन्दोलनले ओलीको नेतृत्व अस्वीकार गर्दै सडकबाटै राजीनामा गर्न बाध्य पा¥यो । सेनाको हेलिकोप्टरबाट ज्यान जोगाउनुपर्ने अवस्था आयो । अध्यक्ष ओलीको इच्छाअनुसार सम्पन्न भएको विधान महाधिवेशनले जनभावना बुझ्न नसकेको, परिस्थितिको विश्लेषण गर्न नसक्दा पार्टीलाई क्षति पुगेकाले अब ओलीको विकल्प खोज्नुपर्ने एमालेका नेताले बताउन थालेका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल त केही नेताहरूलाई फोन गरेर यो नेतृत्वलाई मानेर जान नसकिने बताइसकेका छन् । उनले संविधान दिवसको दिन शुभकामना सन्देश जारी गर्दा पनि पार्टी र आफ्नो पद उल्लेख गरेका थिएनन् । साथै, उनले आफ्नो भागको गल्तीको जिम्मेवारी लिने बताएका थिए ।
‘अब ओलीकै नेतृत्वमा एमाले अगाडि बढ्न सक्दैन, पार्टीमा अब नयाँ तरिकाले नेतृत्व विकास गरेर जनतामाझ पुग्नुपर्छ, पार्टीलाई अघिल्लो पुस्ताबाट मुक्त गर्नुपर्छ,’ एमालेका एक नेताले दृष्टिसँग भने । ती नेताका अनुसार पार्टीको आगामी औपचारिक बैठकमा अध्यक्ष ओलीको राजीनामा माग्ने र लिखित रूपमै प्रस्ताव पेश गर्ने तयारी छ ।
एमालेभित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्ट, नेताहरू कर्णबहादुर थापा र गोकुल बाँस्कोटा लगायत ओलीको विकल्प खोज्नुपर्ने पक्षमा देखिएका छन् । प्रधानमन्त्री हुँदा पनि ओलीले पार्टीलाई सही नेतृत्व दिन नसकेको भन्दै देशभर थुप्रै नेता–कार्यकर्ताले पछिल्लो समय पार्टी परित्याग समेत गरेका छन् ।
स्रोतका अनुसार सेनाको निगरानीबाट बाहिरिँदै गर्दा अध्यक्ष ओलीले संकटको बेला पूर्वराष्ट्रपति भण्डारीको पक्षमा उभिनेलाई ठाउँको ठाउँ कारबाही गर्ने चेतावनी दिइरहेका छन् । ‘यतिबेला कुन व्यक्तिको पद संकटमा प¥यो भन्ने मुख्य कुरा हुँदैन, देश र पार्टी संकटमा पार्ने गरी कसैको पद जोगाइदिनु उचित हुँदैन, अब विकल्प खोज्नुपर्छ,’ स्रोतले भन्यो ।
एमालेभित्र विद्यालाई अघि बढाउने विषयमा कसरी जाने भन्नेमा छलफल चलिरहेको छ । त्यसबाहेक अब सिधै सचिव तहमा नेतृत्व झर्नुपर्ने विषयमा पनि छलफल अघि बढिरहेको स्रोतको दाबी छ । सबैतिरबाट एमालेमाथि नै प्रहार भैरहेको बेला नेताहरूले नेतृत्व परिवर्तनको सवालमा स्पष्ट अभिव्यक्ति दिन सकेका छैनन ।
कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जसरी नेतृत्व फेर्ने विषयमा एमाले अझै अलमलमै रहेको छ । यदि, नेतृत्व परिवर्तन नभए एमालेमाथि ठूलै संकट पैदा हुने नेताहरुले बताएका छन् ।











