
काठमाडौं । प्रहरीले जेनजी आन्दोलनका क्रममा आपराधिक क्रियाकलापमा संलग्न ४३ जनालाई पक्राउ गरेको छ ।
भदौ २४ गते भएको आन्दोलनका क्रममा प्रहरी युनिट र सवारी साधनमा आगजनी गरेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट हालसम्म ४३ जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पूर्णिमा चन्दका अनुसार उनीहरुविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ ।
कालिमाटीस्थित प्रहरी वृत्तमा आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । त्यस्तै नयाँ बानेश्वर, कोटेश्वर र नरेफाँटको प्रहरी युनिटहरूमा आगजनी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
प्रहरी वृत्त महाराजगन्जमा आगजनी गर्ने १ र असई मिलन राय र जवान उत्तम थापाको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेमा काभ्रे घर भएका युवराज क्यापछाकी र सिन्धुपाल्चोक घर भएका ओम पौडेल छन् ।














