Logo
Logo

सुकुम्वासी बस्ती पस्यो बागमती नदी, जोखिमयुक्त बस्तीका बासिन्दालाई स्थानान्तरण गरिंदै


2.6k
Shares

काठमाडौं । अविरल वर्षासँगै बागमती नदी सुकुम्बासी बस्तीमा पसेको छ।

काठमाडौँ क्षेत्रका बागमती नदी किनारमा बसेका सुकुम्वासी बस्तीमा नदी बसेपछि स्थानीयलाई सुरक्षित ठाउँमा सारिँदै छ।

नदी क्षेत्रमा सेना परिचालन भइरहेको छ। सेनाले हरेक घरमा चेक गर्दै आवश्यक परे सामान सार्न समेत सहयोग गरिरहेको छ।

यता, काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ ।

महानगरपालिकाभित्रका खोलाहरूमा पानीको बहाव बढ्दै गएको र डुबानको सम्भावना बढेपछि यस्तो निर्देशन जारी गरेको हो ।

खोला छेउछाउका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासिन्दाहरूलाई नजिकैका विद्यालयहरूमा स्थानान्तरण गर्ने कार्य भइरहेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाको विपद् व्यवस्थापन विभागका अनुसार, बागमती, विष्णुमती लगायतका खोलाहरूको पानीको सतह निगरानीमा राखिएको छ ।

थली, बनेश्वर, कोटेश्वर र दोभान क्षेत्रमा स्थानीय वडा सदस्यहरूमार्फत समन्वय गरी विद्यालयहरू आश्रयस्थलका रूपमा पहिचान गरिएका छन् ।

विपद्को अवस्थामा बासिन्दाहरूलाई बस्ने, सुत्ने र ओत लाग्ने स्थानको अभाव हुन सक्ने भएकाले विद्यालयहरूलाई आधारभूत सुविधाहरू जस्तै शौचालय, खानेपानी, सुरक्षित स्थान तयार राख्न र उद्धार कार्यमा सहयोग गर्न निर्देशन दिइएको छ।

महानगरपालिकाले गत वर्ष जोखिममा परेका क्षेत्रहरूमा प्राविधिक टोली खटाएर निरन्तर निगरानी गरिरहेको छ ।

हालसम्म ठूलो बाढीको कुनै घटना नभए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाइएको छ । सम्पूर्ण उद्धार तथा व्यवस्थापन कार्य काठमाडौं महानगरपालिकाको समन्वयमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्