काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा प्रसारण विभागबाट अनलाइन मिडियाको दर्ता र नवीकरण प्रक्रिया यथाशीघ्र सुरु गरिने बताएका छन् ।

विभागको अनुगमनपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले दर्ता र नवीकरणमा सञ्चारकर्मीले भोग्दै आएको झन्झट अन्त्य गर्न विभागलाई सहजीकरणका लागि निर्देशन दिए । उनले भने, “दर्ता प्रक्रिया सम्भवत तिहारअघि नै सुरु हुन्छ। विभाग पूर्ण तयारीमा छ र अब सहज रूपमा सेवा उपलब्ध हुनेछ ।”
मन्त्री खरेलले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मनसुन र दसैंका कारण केही ढिलाइ भएको बताए। उनले आगामी मन्त्रिपरिषद् बैठकबाट निर्णय भएर राजपत्रमा प्रकाशित भएपछि प्रक्रिया औपचारिक रूपमा सुरु हुने विश्वास व्यक्त गरे ।
उनका अनुसार विभागले अन्य निकायभन्दा छिटो र पारदर्शी रूपमा सेवा दिइरहेको छ र पत्रकार तथा जनतासँग प्रत्यक्ष सम्बन्ध भएकाले सेवा प्रवाह अझ प्रभावकारी बनाउन ध्यान दिइनेछ । मन्त्री खरेलले सरकार सुशासन, जवाफदेहिता र परिणाममुखी काममा केन्द्रित रहेको उल्लेख गर्दै जनधनको क्षतिको अनुसन्धान, कारबाही र सेवा प्रवाह सुधारका लागि ठोस कदम चालिने बताए ।
सञ्चार मन्त्रालयकी सचिव राधिका अर्यालले मन्त्रालय अनलाइन मिडिया दर्ता, नवीकरण र पत्रकारका माग सम्बोधनमा सकारात्मक रहेको बताइन् । विभागका महानिर्देशक उदयबहादुर रानामगरले विभागले सञ्चारकर्मीका हकहित र सहजीकरणका लागि निरन्तर काम गरिरहेको जानकारी दिए।














