Logo
Logo

चुनावमा नजाने, संसद पुर्नस्थापनमा बल गर्ने


2.5k
Shares

आमनागरिकलाई दिक्क लाग्नेगरी सत्ताको लुछाचुडी गरेको वामपन्थी नेताद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जेनजी आन्दोलनसँगै भएको विध्वंशलाई एउटै आँखाले हेरेका छन् । २३ भदौको आन्दोलनबारे सत्ता र प्रतिपक्षीय मत राखे पनि २४ भदौको विध्वंशको दोष वामपन्थी नेताले भूराजनीतिक चलखेलमाथि थुपार्दै आआफ्नै शैलीमा प्रतिवादमा उत्रेका छन् भने सिटौलाले संसद पुनस्र्थापनाका लागि एमालेसँग हातेमालो गर्न खोजिरहेका छन् ।

एमालेले त संसद पुनस्र्थापनामा जाने निर्णय नै गरिसकेको छ । त्यसमा कांग्रेसको धारणा आउन बाँकी छ । असुरक्षा बढेका बेला सुरक्षा घटाइएपछि राष्ट्रिय युवासंघ र वाइसीएलको घेरामा रहेका दुवै नेताका कैयन फरक र परस्परविरोधी धारणा छन् । तर जेनजी आन्दोलन र त्यसपछिको विध्वंशमा विदेशी घुसपैठ देख्ने आँखा भने समान छन् ।

आन्दोलनकै कारण सत्ता गुमाएका एमाले अध्यक्ष ओलीले सरकारको वैधतामाथि प्रश्न उठाउँदै नेपालीको नभएको आरोप लगाएका छन् । ‘यो सरकार कसैको प्रतिनिधि होइन । नेपालीको चाहिँ होइन,’ ओलीले भक्तपुरको गुन्डुमा सार्वजनिक रूपमै भने, ‘बलमिच्याइँबाट बनेको सरकारका कारण देशको परिस्थिति असाधारण र असामान्य बनेको छ ।’

राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र विघटित प्रतिनिधि सभामा रहेका सबै दलहरूसँग गत साता छलफल गरेका थिए । त्यहाँ दलहरुले निर्वाचनबारे आफ्ना धारणा नराखी सरकारको नियतमाथि प्रश्न उठाएका थिए ।

कांग्रेसका तर्फबाट सिटौलाले एमालेसँग समन्वय गरिरहेका बेला एमाले सचिवालय बैठकले संसद पुनस्र्थापनाका लागि अदालत जाने निर्णय नै गरिदियो । सिटौला संसद पुनस्र्थापना गरेर देउवालाई प्रधानमन्त्री बनाएपछि आफू सभापति हुने दाउमा लागेका छन् ।

जेन–जी आन्दोलन बर्बर प्रहरी दमनको भोलिपल्ट २४ भदौमा भड्किएको थियो । त्यसमा आफ्नो कमजोरी स्वीकार्नुको साटो ओली विदेशी चलखेललाई देखाएर राष्ट्रिय स्वतन्त्रताको नारा लगाइरहेका छन् र यो सरकार बैधानिक नभएको भन्दै संसद पुर्नस्थापनामा जोड दिएको हुन् । कतिसम्म भने काठमाडौंको आकाशमा विध्वंशको धुँवा उडिसक्दासम्म ओली बालुवाटारमा सुरक्षा अंगका प्रमुखलाई सिक्किम भारतमा विलयको प्रसंग सुनाउँदै थिए । यस्तो बेला आफूले छोड्दा देशको अस्तित्व नै तलमाथि हुन सक्ने दाबी गरिरहेका थिए ।

ओलीभन्दा भिन्न शैलीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भूराजनीतिक चलखेल र सन्तुलनको व्याख्या गरिरहेका छन्् । उनले पनि सार्वजनिक रुपमै भूराजनीतिक चलखेल देखिरहँदा चुनाव बहिष्कार त भन्न सकेका छैनन् तर भित्रभित्रै संसद पुर्नस्थापनाबारे लविङ गरिरहका छन् ।

प्रतिक्रिया दिनुहोस्