काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको मिति तोकिए पनि सुरक्षा र अन्य विषयमा दलहरूले संशय व्यक्त गरेपछि यो बैठक बोलाइएको हो ।

बैठकमा दस राजनीतिक दलका प्रतिनिधि र पर्यवेक्षकको रूपमा केदारभक्त माथेमा र विद्याधर मल्लिक सहभागी छन् । यो कार्कीको पहिलो सर्वदलीय छलफल हो ।
जेनजी आन्दोलनको जगमा प्रधानमन्त्री बनेकी कार्कीले यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको सर्वदलीय बैठकमा भाग लिएकी थिइन् । नेकपा एमालेले निर्वाचन सम्भव नहुने भन्दै संसद् पुनर्स्थापनाको माग गरेको छ । बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, जनमत पार्टीबाट चन्दन सिंह, कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, एमालेबाट शङ्कर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला सहभागी छन् ।
यो बैठकले निर्वाचनको तयारी र राजनीतिक सहमति कायम गर्ने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ ।














