Logo
Logo

तीन कर्णेललाई जेनजीको हैरानी


4.6k
Shares

काठमाडौं । जेनजी आन्दोलनबाट सिंहदरवार जल्दा नेपाली सेनाका अधिकारहरूले केही गर्न नसकेको आरोप लागेका बेला तीनजना उच्च अधिकारीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । सिंहदरबारस्थित नरसिंह दलका गणपति प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) गणेश खड्का, भवानीबक्स गण, सिन्धुलीका तेजेन्द्र मगर र धनगढीस्थित सैनिक स्कूल, तेघरी ब्यारेकका शिव भडेललाई तिहारअघि नै नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई नियन्त्रणमा राखेर सेनाले आफ्नो गल्ती ढाकछोप गर्न खोजेको आशंका गरिएको छ । राष्ट्रपति भवन, सर्वोच्च अदालत, सिंहदरवार जलेकोमा सेनाको सर्वत्र विरोध भएको थियो । त्यसपछि सेनाले ढाकछोपका लागि तीन कर्णेललाई नियन्त्रण्मा लिएको बताइएको छ ।

सिंहदरवार लगायतका धरोहरहरूलाई जेनजीका नाममा आपराधिक तत्वहरूले आक्रमण गरी जलाएको र त्यसलाई रोक्न नेपाली सेनाले प्रयाप्त सावधानी नअपनाएको भन्दै चौतर्फी आलोचना भएको थियो । ‘सेनाका तीन उच्च अधिकृतलाई भदौ २३ र २४ को घटनासँग सम्बन्धित विषयमा जंगीअड्डा बोलाएर सैनिक हिरासतमा राखी सोधपुछ थालिएको छ’, स्रोतले भन्यो ।

उनीहरूलाई सैनिक सचिव विभागको आन्तरिक सर्कुलरअनुसार सरुवा गरिएको उल्लेख छ भएपनि कारबाहीका लागि नियन्त्रणमा राखिएको स्रोतले जनाएको छ । कर्णेल खड्कालाई नम्बर २ बाहिनी अड्डा, धनकुटाको दरवन्दी राखिएको छ ।

कर्णेल तेजेन्द्र मगरलाई नम्बर ५ बाहिनी अड्डा पु¥याइएको छ । यसअघि उनी सिन्धुलीको भवानीबक्स गणमा गणपति थिए । उनीमाथि जेलका कैदीबन्दी भाग्दा रोक्न पहल नगरेको आरोप लागेको छ । शिव भडेलमाथि सिंहदरवार जल्दा टिकटक बनाएर बसेको आरोप लागेको छ ।

सिंहदरवारमा रहेका कर्णेल खड्काले भदौ २४ गतेको विध्वंशका बेला सिंहदरबारमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, प्रधानन्यायाधीशलगायतलाई त्यहीँको नरसिंहदल गणमा आश्रय दिएका थिए । तर सिंहदरवारभित्र दिनदहाडै त्यत्रो आगजनी र क्षति हुँदा त्यहीको सुरक्षा गर्न बसेको सेनाले पर्याप्त सावधानी नअपानाएको कारण ठूलो क्षति भएको बुझाइ रहेको छ ।

सिंहदरवारको पश्चिमी मूलगेटबाट सशस्त्र एसएसपी राजेश उप्रेतीले हवाई फायर गरी उपद्रवकारीलाई एक खेप भगाउँदा भित्र सेनाको कहीकतै उपस्थिति नभएका कारण पनि सेनाप्रति बढी नै आलोचना भएको थियो । आपराधिक समूहले प्रहरीको बन्दुक पड्काउन थालेपछि बल्ल सशस्त्र पछि हटेका थियो ।

भदौ २३ र २४ को जेन जी उपद्रवमा सेनाको भूमिकालाई लिएर आम रूपमा प्रश्न उठिरहेको छ । सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन मात्र होइन भैरवनाथ गणको ठ्याक्कै पारीपट्टी बस्ने आफ्नै परमाधिपतिको कार्यालय शीतल निवाससमेत जोगाउन नसकेको भन्दै सैनिक नेतृत्वमाथि चर्को आलोचना भैरहेको छ ।

निर्मल निवासमा सेना खटाउने तर शितल निवास जोगाउन नसकेको भन्दै आलोचना भएको थियो । तर, सेनाले भने उक्त दिनको परिस्थितिलाई हेरेर सोहीअनुसार खेल्नुपर्ने भूमिका खेलेको दाबी गर्दै आएको छ । सेनाले पत्रकार सम्मेलन गरेर आप्mनो भनाइ सार्वजनिक गरेको थियो ।

यदि सेनाका तर्फबाट कमजोरी भएको थिएन भने उनीहरुलाई बाहिर सरुवा गरेको देखाएर भित्रभित्रै किन हिरासतमा लिइयो ? भन्ने प्रश्न उठेको छ । तर,यी सबै काम भैरहँदा युध्दकार्य महानिर्देशनालयबाट बढुवा भएर उपत्यका पृतना सम्हाल्न पुगेका रविन्द्र खत्री र ५ चोटी सगरमाथा चढिसकेका बालाजूस्थित १ नम्बर बाहिनीपति सुनिलसिंह राठौरसङ्ग सामान्य सोधपुछसम्म नहुनुलाई भने आश्चर्य मानिएको छ ।

यसअन्र्तगत सैनिक सचिव विभागको आन्तरिक सर्कुलरअनुसार २ जनालाई कमाण्ड, १ जनालाई व्यवस्थापक अधिकृत र ३ जनालाई सरुवा गरिएको छ । नम्बर १ बाहिनी अड्डा बालाजूका प्रमुख सेनानी सुदिपकुमार सिंहलाई भवानीबक्स गण र सुदूरपश्चिम पृतना मुख्यालयका प्रमुख सेनानी बसन्तनाथ योगीलाई नरसिंहदल गणमा सरुवा गरिएको छ । नम्बर ३ बाहिनी अड्डा पोखराका प्रमुख सेनानी खिलबहादुर रानालाई व्यवस्थापक अधिकृतको रूपमा सैनिक आवासीय महाविद्यालय कैलालीमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्