
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भन्ने समाचारप्रति प्रधानमन्त्री सुशिला कार्कीको ध्यानाकर्षण भएको छ ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकार क्षेत्रको विषय भएको भन्दै कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन नसक्ने बताएका छन् ।
जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो संवेदनशील परिस्थितिमा निराधार अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ ।











