काठमाडौं । प्रहरीले बरामद गरेको २१ किलो ७५०.६७ ग्राम अवैध सुन भन्सार कार्यालयमा बुझाइएको छ ।
यही असोज २१ गते उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालस्थित एउटा घरबाट उक्त परिमाणको सुनसहित तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

सुनसहित उनीहरूलाई राजस्व छलीसम्बन्धी कसुरमा कारबाहीका निम्ति शुक्रबार (असोज २३) त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको कार्यालयका प्रमुख एवं एसएसपी सन्तोष खड्काले जानकारी दिए ।
पक्राउ पर्नेमा २७ वर्षीय हान फेल, ४७ वर्षीय होङ लोङनजिङ र ३७ वर्षीय वाङ जेङजिङ छन् । सुन तस्करीको जालोबारे भने थप अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ ।
सुन कसरी नेपाल भित्र्याइयो भन्नेबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ । सुनलाई लेदोका रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै नेपाल छिराइएको प्रहरीको प्रारम्भिक आशंका छ ।













