
काठमाडौं । सशस्त्र प्रहरी बलले म्याग्दीको अन्नपूर्ण बेस क्याम्पबाट १ सय ६२ जनाको उद्वार गरेको छ । कार्तिक १० गते रातिदेखि भारी हिमपात भएपछि सशस्त्र प्रहरीले बेशक्याम्पबाट आज बिहानसम्म १७ बिदेशी पर्यटकसहित १ सय ६२ जनाको उद्वार गरेको हो ।
अब अन्नपूर्ण कोहि पनि आन्तरिक तथा बाह्य पर्यटक नभएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपूर्ण बेश क्याम्पमा हिउँ पहिरो आइरहेको छ ।
बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरुको डोरिको सहायताले बाटो पहिल्याउंदै उद्वार गरिएको हो । सबै पर्यटकको उद्वार भएपछी यतिखेर बेशक्याम्प खाली भएको छ ।
३ दिनको निरन्तर प्रयासपछि बेशक्याम्प हिंडेका केही पर्यटकलाइ बाटोबाट नै फर्काइएको थियो । बुधबार मात्रै बेशक्याम्पबाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाइ सुरक्षित स्थानमा ल्याइएको थियो ।
कार्तिक ११ गते बाटोबाट फर्काइएका र आज बिहान पनि बेशक्याम्पबाट तल झारिएकासहित १ सय ६२ जनाको उद्वार भएको हो । उद्वार गरिएकाहरुलाई अन्नपूर्ण गाउँपालिका–४ गुफाफांट, सादिखर्क लगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ ।











