Logo
Logo

हिमपातपछि उपल्लो डोल्पामा सञ्चार अवरुद्ध


252
Shares

सुर्खेत । लगातारको हिमपात पछि उपल्लो डोल्पामा चार दिनदेखि सञ्चार सेवा अवरुद्ध रहेको छ । हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन सेवा चार दिन देखि अवरुद्ध भएको हो । 

The current image has no alternative text. The file name is: dolpa.jpg

पछिल्लो समय पाँच दिन देखि लगातार परेको हिमपातका कारण जनजीवन कष्टकर बन्नुका साथै सञ्चार सेवा समेत अवरुद्ध भएको छ ।  सो क्षेत्रमा नेपाल टेलिकमका टावरले घाम लागेपछि मात्रै काम गर्छन् । माथिल्लो डोल्पामा वर्षौँ पुराना टेलिकमका टावरले पनि सेवा दिन सकिरहेको छैन ।

उक्त गाउँपालिकामा फोक्सुन्डो ताल समेत रहेको छ । देशका अधिकांश पर्यटकीय क्षेत्रमा फाइभजी सेवा जडान गरिए पनि उपल्लो डोल्पामा भने नियमित फोन सेवा समेत सञ्चालन हुन सकेको छैन ।

डोल्पामै पर्ने डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिका पनि फोन सम्पर्कबाट अलग भएका छन् । डोल्पोबुद्ध गाउँपालिकामा चार दिनदेखि नमस्तेको फोन सेवा छैन ।

उपल्लो डोल्पा क्षेत्रमा बाक्लो हिउँ परेको छ । बाक्लो हिउँ जमेपछि जनजीवन कष्टकर हुनुका साथै पशु वस्तु चरिचरणमा समेत समस्या उत्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय डोल्पाले जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न रोक लगाएको छ । चार दिन देखि निरन्तर वर्षासँगै हिमपात भइरहेकाले यस समयमा पदयात्रामा ननिस्कन सूचना जारी गरिएको छ । 

शे–फोक्सुन्डो गाउँपालिका–८ मा पर्ने फोक्सुन्डो ताल र उपल्लो डोल्पा क्षेत्रमा अहिले स्वदेशी तथा विदेशी पर्यटक भित्रिरहेकाले यात्रा रोक्न प्रशासनले आग्रह गरेको छ ।

मौसम सफा नभएसम्म पदयात्रा नगर्न र पदयात्रामा निस्किसकेका पर्यटकलाई यथास्थानमा सुरक्षित रूपमा बस्न पनि आग्रह गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्