Logo
Logo
कविता/साहित्य

श्रम र समृद्धि


भूपेन्द्र थापा ‘माधव’

1.6k
Shares


श्रम अनि संस्कृतिको बगैँचाम
समृद्धिको फूल फुलाउनु छ ।
भोक, रोग र अभावको
कालो सुरुङ्ग छिचोल्दै
रोजगारीको बाली झुलाउनु छ ।

असमानता र अभावको
चट्टानी पहाडलाई
सिर्जनाको हथौडाले फोर्नुछ ।
समानता र अवसरको
प्यास मेटाउन
आशा र भरोसाको
मुहान छेड्नु छ ।

तिमी गाली र आक्रोशको
असिना सहित
मुसलधारे
पानी नबर्साऊ
तिम्रो अहङ्कार
र घमण्डको
विनाशकारी बाढीले
मेरो युगौँ युग देखिको
सुख,शान्ति र उन्नतिको
सपनालाई बगाउने
कुचेष्टा नगर मैले छरेका
सफलता र प्रगतिका
उन्नत लाखौँ बिउँहरू
बिस्तारै कलिला टुसाहरूमा
परिणत हुन थालेका छन् ।

गणतन्त्रात्मक, समावेशी
र समानुपातिक बाली
खान खोज्ने
प्रतिगामी र पश्चगामी किराहरू
नागार्जुनको रछ्यानमा
भन्कने झिँगाहरू
खबरदार फेरि पनि
तिम्रा विरुद्ध
आधिवेरीको बीस
छर्न नपरोस् ।

यदि सक्छौ भने
भ्रष्टाचार र कुशासनको
उजाड डल्ला फोरेर
लोकतन्त्रको उर्वर माटोमा
न्याय र अधिकारको
उन्नत बिउँ रोपेर ।
पारदर्शिता र नैतिकताको
कुलो खनेर
जबाफदेहिता र प्रतिबद्धताको
कम्पोस्ट छरेर
सुख,शान्ति र सुशासनको अन्न फलाऊ।
तबमा मात्र तिमी सच्चा
श्रम संस्कृति बगैँचाको
माली हुनेछौँ ।

प्रतिक्रिया दिनुहोस्