Logo
Logo

वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका कर्मचारी तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन


1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री तथा पर्यटनमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करार कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छिन् ।

सिंहदरबारमा निगमका सञ्चालक समिति र व्यवस्थापनलाई बोलाएर करार कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी हुन् । ‘जेनजीहरूले रगत बगाएर ल्याएको परिवर्तन नातावाद र कृपावाद अन्त्यका लागि होइन र ?’ उनले प्रश्न गरिन्, ‘अवकाशको मुखमा पनि मनपरी भर्ती किन? यो बेथिति अब सहँदैन ।’ 

निगमलाई एक समय गौरवको संस्था रहेको स्मरण गर्दै उनले बेथिति हटाउन कसैको मुख नहेर्न आग्रह गरिन् । निगम सुधारका पुराना प्रतिवेदन कार्यान्वयन गर्न योजनाबद्ध रूपमा अघि बढ्न उनको निर्देशन छ । निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले १७ अर्बभन्दा बढी सञ्चित नोक्सानीको विवरण पेस गरेका थिए । 

 प्रधानमन्त्रीले निगमको अवस्थालाई धनाढ्यको बिग्रिएको घरसँग तुलना गरिन्-‘बाहिर सबै छ, भित्र दर्दनाक । नाफा–घाटा नभए पनि रोजगारी दिन्थ्यो भने चित्त बुझ्थ्यो, त्यो पनि छैन ।’विना प्रतिस्पर्धा दर्जनौँ कार्यकर्तालाई नियुक्ति दिने प्रवृत्ति, इन्जिन मर्मत नगरी भाडाको चलाउने चलन र निजी क्षेत्र नाफामा हुँदा निगम घाटामा पर्नुको कारणबारे उनले गम्भीर प्रश्न उठाइन् । ‘यो घाटा जनताको हो,’ उनले भनिन्, ‘कठोर र अप्रिय निर्णय आवश्यक छ ।’

राजनीतिक दबाब नमानेर विधिसम्मत चल्न उनले सुझाइन् । उनले भनिनन् ‘अख्तियारलाई बहाना नबनाउनुहोस् ।’ सञ्चालक समिति कार्यवाहक अध्यक्ष विक्रम राईले बोल्ड निर्णय लिने प्रतिबद्धता जनाए । प्रधानमन्त्रीले सरकारको पूर्ण साथ रहने आश्वासन दिइन् । कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए । भ्रष्टाचार छानबिन प्रतिवेदनअनुसार तत्काल कारबाही गर्न पनि उनले निर्देशन दिइन् ।

प्रतिक्रिया दिनुहोस्