काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेकी छन् । आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा छलफल भएको हो ।

छलफल आगामी फागुन २१ गते हुने निर्वाचनमा केन्द्रित रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । ‘ फागुन २१ को निर्वाचन, सुशासन र भ्रष्टाचार नियन्त्रणजस्ता विषयमा सङ्घीय सरकार र प्रदेश सरकारबीच सहकार्य कसरी गर्न सकिन्छ भन्नेमा महत्त्वपूर्ण छलफल भयो,’ मन्त्री खरेलले भने ।
खरेलका अनुसार छलफलमा भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा पनि दुवै तहका सरकारबीच सहकार्यका उपायबारे कुराकानी भएको छ । उनले भने, ‘चुनावको सन्दर्भमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले अहिले भइरहेको प्रगतिबारे प्रदेश सरकारलाई जानकारी गराउनुभयो । प्रदेश सरकारहरूले पनि प्रदेश तहमा चुनावको वातावरण, जनस्तरमा त्यसको स्वीकार्यता, सुरक्षा अवस्था र सरोकारवालाहरूको धारणा कस्तो छ भन्नेबारे ब्रिफिङ गर्नुभयो ।’बैठकमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी काम गर्ने तथा चुनावलाई सफल बनाउने समझदारी भएको मन्त्री खरेलले बताए ।














