Logo
Logo

बालेन र गृहमन्त्री ओमप्रकाश आमनेसामन्ने


6.6k
Shares

काठमाडौं । नेपालको तीव्र राजनीतिक परिवर्तनको बीचमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र गृहमन्त्री ओमप्रकाश अर्यालबीच देखिएको तनावले नयाँ बहस छेडेको छ।

केही समयअगाडि मेयर बालेन र उनका निकटवर्तीहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दबाब दिइरहेको चर्चा चलेको थियो । यद्यपि अहिले त्यो चर्चा केही सेलाएको देखिए पनि फेरि एकपटक गृहमन्त्री आर्याल र मेयर बालेन आमनेसामने भएका छन् ।

ओमप्रकाश अर्याल काठमाडौं महानगरका मेयर बालेन शाहका लामो समयका कानुनी सल्लाहकार थिए । जेनजी आन्दोलनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेपछि बनेको प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम मन्त्रिपरिषद्मा अर्याललाई गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । यस नियुक्तिमा पनि बालेनको प्रभाव रहेको मानिन्छ।

तर, अर्यालको मन्त्रीकालमा देखिएका केही निर्णयहरूले बालेनसँगको सम्बन्धमा चिसोपन ल्याएको छ। बालेन र अर्यालबीच केहि समयअघि नै सम्बन्धमा दरार आइसकेको थियो। उनीहरूबीच प्रत्यक्ष सम्वादको स्थिति थिएन ।

यस्तो अवस्थामा बालेनले काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डे वा पूर्वप्रहरी मिरा चौधरीलाई गृहमन्त्री बनाउन खोजेका थिए । तर, सम्भव नभएपछि प्रधानमन्त्री कार्कीले नै रोजेका अर्याल गृहमन्त्री बनेका हुन् ।

यसै क्रममा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गराउने दबाब बालेनले दिएको तर काम हुन नसकेपछि गृहमन्त्री अर्यालको उपादेयता सकिएको ठान्दै बालेनले हटाउने प्रयास थालेका हुन् ।

ओली र लेखक मात्र नभई अन्य केही पात्रलाई पनि पक्राउ गर्नुपर्ने माग राख्दै आएका बालेनको दबाब सरकारको कानूनी धारा पल्टाउन पुग्दा उनी असन्तुष्ट बनेका छन् । यो विवाद केही समयअघि सामाजिक सञ्जालमा व्यापक थियो ।

सामाजिक सञ्जालमा गृहमन्त्री अर्याललाई हटाउन ट्रेन्ड नै चल्यो । बालेनको टिमले ट्रेन्डमार्फत उनलाई राजीनामा दिन बाध्य पार्ने वा प्रधानमन्त्री कार्कीलाई लगाएर हटाउने रणनीति अघि बढाएको थियो ।

तर ओली र लेखकलाई पक्राउ नगरेको निहुँ बनाउँदै अर्याललाई हटाउने प्रयास तीब्र भएपछि बालेनमाथि समेत तीव्र आलोचना भएको थियो ।

अभियन्ता ई.ले समेत बालेनले अर्याललाई हटाउने प्रयास गर्दा प्रधानमन्त्री कार्की नै संकटमा पर्न सक्ने दाबी गरेका थिए ।

यता, प्रधानमन्त्री कार्कीको निजी सचिवालयले गृहमन्त्री हटाउने विषय अस्वीकार गर्दै मन्त्रीको नियुक्ति वा हटाउने विषय संवैधानिक अधिकार भएको स्पष्ट पारेको थियो । तर, घटनाले बालेन शाहको बढ्दो प्रभाव र युवा नेतृत्वको केन्द्रीय राजनीतिमा हस्तक्षेपलाई उजागर गरेको छ।

दुई प्रहरीबीच आमनेसामन्ने
गृहमन्त्री अर्याल र मेयर बालेनबीचको सम्बन्ध खटपटको चर्चा सेलाउन नपाउँदै दुई निकायका प्रहरी आमनेसामन्ने भएका छन् ।

आज (आइतबार) काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा अवैध रूपमा निर्माण भएका भौतिक संरचनामा डोजर चलाएको छ । महानगरले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका लागि उक्त संरचनाहरू भत्काएको जनाएको छ ।

महानगर प्रहरी बिहानै डोजरसहित प्रभागमा पुगेको थियो । सम्पदा जग्गामा अवैध अतिक्रमण गरेर बिट खडा गरिएको भन्दै महानगरले संरचना हटाउने तयारी गरेको थियो । तर, अनाधिकृत ट्राफिक प्रहरी प्रभाग हटाउने तयारी भएको सुईको पाएपछि गृहमन्त्री आर्यालले डिएसपीकाे कमाण्डमा फोर्स खटाएका थिए । यसपछि नेपाल प्रहरी र नगरप्रहरीबीच झण्डै मुठभेडको स्थिति सिर्जना भयो ।

राम मन्दिर परिसरमा रहेको ट्राफिक कार्यालय भत्काउन महानगरले ठूलो संख्यामा नगरप्रहरी पठाएको थियो भने त्यसलाई रोक्न नेपाल प्रहरीको पनि बाक्लो उपस्थिती थियो। महानगरले ट्राफिक प्रहरी प्रभाग हटाउन कुनै समन्वय नगरेको प्रहरीले जनाएको छ।

अन्ततः, विवादपछि ट्राफिक प्रहरी प्रभाग तत्काल भत्काउने काम रोकिएको छ। वडा नं ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले भने– “थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग अहिलेलाई नभत्काउन भनेको छु। प्रहरी कमाण्डरले अनुमति दिए भने मात्र कार्य अगाडि बढ्छ। अहिले प्रहरीलाई बस्न समेत समस्या भएको कारण तत्काल भत्काउन नदिएको हो।”

प्रतिक्रिया दिनुहोस्