Logo
Logo

मन्त्री खनाल गुमराहमा, सामान्यका सरुवामा चलखेल


3.9k
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीले अर्थमन्त्री रामेश्वर खनाललाई दिएका छन् । खनाल अर्थमन्त्रालयमै बढी ब्यस्त हुँदा सामान्य प्रशासन मन्त्रालय निश्चित समूहको स्वार्थमा संचालन हुँदैआएको छ ।

कर्मचारी प्रशासन शाखामा जरा गाडेर बसेका उपसचिवहरूले अहिले पनि कसरी हुन्छ अतिरिक्त कमाउधन्दा संचालन गर्न नछाडेको गुनासो छ । सामान्य प्रशासन मन्त्रालयमा जरा गाडेर बसेका स्थानीय तह कर्मचारी प्रशासन शाखाका उपसचिव भीमकान्त पौडेलले अहिले पनि रमाना रोकेर, सरुवा हुन लागेकाहरूलाई पूर्वसूचना दिएर लाभ लिने गरेको आरोप छ ।

मालपोत कार्यालय ललितपुरको प्रमुखदेखि बिभिन्न मालपोतमा बसेका उनले मालपोत कार्यालयबाट अन्य मन्त्रालय अन्तर्गत सरुवा भएका खरिदार, नायबसुब्बा र अधिकृतहरूको सरुवाको पत्र नदिई लाभ लिने गरेको आरोप छ ।

गएको भदौ १२ गते स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएका १ सय २२ उपसचिवहरूमध्ये अधिकांशसँग लाभ लिएर पौडेलले रमानापत्र रोकेका छन् । उद्योग बिभागदेखि बिभिन्न आकर्षक कार्यालयमा कार्यरत उपसचिवहरूले पौडेलमार्फत् रमाना रोक्दैआएका छन् ।

उपसचिव पौडेलले यसअघिका भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले दररेट तोकेर गएको साउनमा काजसरुवा गरेका काठमाडौं उपत्यकाका तीन वटा मालपोत कार्यालयका प्रमुखहरूलाई पनि सामान्य प्रशासन मन्त्रालयले भदौ १२ गते स्थानीय तहमा सरुवा गर्न लागेको थियो । तर मालपोतका कर्मचारीसँग कनेक्सन भएका पौडेलले उनीहरूको सरुवा हुनबाट रोकेका थिए ।

सधैं उपत्यका र आकर्षक कार्यालयमा बसेर लाभ लिएका रविन ढकाल, माधव घिमिरे र अशोक भट्ट्राईको सरुवा भर्खरै भएको हो भनेर उनले तत्कालीन सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई समेत गुमराहमा पारेर स्थानीय तहमा सरुवा हुनबाट रोकेका थिए ।

भूमिब्यवस्था र सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी सरुवा गर्ने बिचौलिया प्रमोद खड्का हुन् । खड्काको उपसचिव पौडेलसँग सेटिङ भएकैले मालपोतका सरुवामा चलखेल हुँदैआएको छ । भीमकान्तलाई सामान्यको कर्मचारी प्रशासन शाखामा लाने नै बिचौलिया खड्का हुन् ।

यसअघि संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका उपसचिव कमल भट्टराई भने टोखा नगरपालिकामा सरुवा भइसकेका छन् । तर पौडेल भने १ बर्षभन्दा बढी समयदेखि सामान्यका कर्मचारी सरुवामा चलखेल गरिरहेका छन् । राजकुमार गुप्ता मन्त्री हुँदा उनका छोराहरूसँग मिलेर आकर्षक कार्यालयमा कर्मचारी सरुवामा असुली गर्नेमा पौडेलकै नाम मुछिएको थियो । तर गुप्तादेखि न्यौपाने र अहिले जेनजीको सरकारमा समेत पौडेलले सरुवामै चलखेल गर्न तल्लीन छन् ।

प्रतिक्रिया दिनुहोस्