काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा काठमाडौँ उपत्यकामा बढी क्षति पुगेका क्षेत्रका प्रहरी इन्चार्जहरूलाई हाललाई उपत्यका नछाड्न निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार, भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले सोधपुछका लागि कुनै पनि बेला बोलाउन सक्ने भएकाले उनीहरूलाई उपत्यकाभित्रै रहन परिपत्र गरिएको हो ।
आयोगको सचिवालयबाट कात्तिक १६ गते प्राप्त पत्रका आधारमा प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाले उपत्यका प्रहरी कार्यालयलाई आवश्यक कार्यार्थ निर्देशन पठाएको छ ।
पत्रमा भनिएको छ, “जेनजी आन्दोलनका क्रममा बढी क्षति पुगेका क्षेत्रका प्रहरी इन्चार्जहरूलाई जाँचबुझका लागि बोलाउनुपर्ने हुनाले हाललाई काठमाडौँ उपत्यका नछाड्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।”











