काठमाडौं । भदौ २३–२४ को आन्दोलनपछि देशभर सबैभन्दा बढी आशा गरिएको नाम थिए– काठमाडौं महानगरपालिका मेयर बालेन शाह । आन्दोलनपछि देश र जनताले उनीमाथि भरोसा गरेका थिए । र, नेतृत्वको अपेक्षा पनि उनीसँगै जोडिएको थियो । तर बालेन अघि बढेनन् । ‘म देशको नेतृत्व गर्छु’ भन्नेलाई पनि साथ दिएनन् !

देशको नेतृत्व बालेनले लिनुपर्ने आवज चौतर्फी उठारहँदा अस्थायी नभई स्थायी रुपमा नेतृत्व गर्ने उनको आशय थियो । अन्तरिम सरकारको नेतृत्वको प्रसङ्गमा उनले भनेका थिए– “अहिलेको सरकार छोटो अवधिको मात्र हो, म भने निर्वाचनपछि स्थायी रूपमा देशको नेतृत्व गर्न चाहन्छु । अहिले हतार गर्ने बेला होइन । तपाईंहरूको जोश, सोच र इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन । कृपया हतार नगर्नुहोस् ।”
त्यसपछि उनको प्रस्तावमै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचनको मिति तय ग¥यो ।
निर्वाचन घोषणा भएपछि धेरैले बालेनले पार्टी बनाएर चुनावमा आउने अनुमान गरे । उनले “हाम्रो नेपाली पार्टी” नाममा नयाँ दल गठनको तयारी गरेको चर्चा पनि चर्कियो । यो दल मूलतः ‘लौरो अभियान’ का कार्यकर्ताबाट सुरु गरिएको हो, जसले अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौंमा बालेन र धरानमा हर्क साम्पाङलाई समर्थन गरेका थिए ।
पार्टी खोल्ने तयारीस्वरुप बालेनले पटकपटक विभिन्न व्यक्तिहरूसँग छलफल पनि गरे । उनले पार्टीमा धरानका मेयर हर्क साम्पाङ, कुलमान घिसिङ, पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ र केही कलाकारलाई पनि जोड्ने प्रयास गरेका थिए ।
पार्टीको लक्ष्य देशभरका स्वतन्त्र र युवा कार्यकर्ताहरूलाई एक प्लेटफर्ममा ल्याउने र आगामी संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको साझा आवाज बन्ने थियो । तर, पछिल्ला विवाद र राजनीतिक चर्कोपनाबीच बालेन पार्टी गठनबाट पछि हटेका छन् ।
उनका निकट स्रोतका अनुसार उनले अब कुनै नयाँ दल नबनाउने र कुनै पनि पुरानो दलमा सामेल नहुने निर्णय गरेका छन् । उनले भनेका छन्–“म निर्वाचनमा प्रतिस्पर्धा नगरी महानगरको मेयरका रूपमा आफ्नो कार्यकाल पूरा गर्छु ।”
तर बालेनले जेन–जी आन्दोलनका एजेन्डा बोकेका उम्मेदवार वा दललाई समर्थन गर्ने बताएका छन् ।
जेन–जी आन्दोलनको बलमा ओली सरकार ढलेपछि बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहकार्यबारे गर्न चर्चा पनि चलेको थियो । त्यतिबेला रबि लामिछानेले बालेन वा कुलमान घिसिङलाई पार्टीको नेतृत्व दिन सक्ने चर्चा थियो । तर सोबिता गौतम, डा. स्वर्णिम वाग्ले र दीपक बोहरालगायत नेताहरूको असहमति पछि विषय टुंगिएको थिएन ।
त्यसपछि कुलमान घिसिङ र सुमना श्रेष्ठले नयाँ दल गठनको तयारी गरे, जसमा बालेन पनि जोडिने भनिएको थियो । तर उनले सबै अफवाह अस्वीकार गर्दै स्पष्ट रूपमा भनेका छन्–
“म अहिले कुनै दलमा जान वा नयाँ पार्टी बनाउन खोजिरहेको छैन । संविधानको सम्मान गर्दै जेन–जी आन्दोलनका एजेन्डा बोकेकालाई समर्थन गर्छु ।”
विवादको कारण व्याक !
बालेन पछिल्लो समय निरन्तर विवादमा तानिँदै आएका छन् । गत शनिबार राति उनले अमेरिका, भारत, चीनसहित नेपाली राजनीतिक दलहरूविरुद्ध अशलील शब्दमा एउटा स्टाटस लेखे । केही बेरमै स्टाटस हटाए पनि त्यसको स्क्रिनसट भाइरल भयो ।
स्टाटसमा उनले अमेरिका, भारत र चीनका साथै नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादीलाई गाली गरेका थिए । स्टाटसको अन्त्यमा उनले “तिमीहरू सबै मिलेर पनि केही गर्न सक्दैनौ” भनेर लेखेका थिए ।
पछिल्लो समय बालेनमाथि अन्तर्राष्ट्रिय शक्तिसँग साठगाठ गरेको आरोप लाग्दै आएको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार निर्माणमा उनी अदृश्य शक्ति बनेर सक्रिय भएको भन्ने चर्चा थियो । यहीबेला उनले चीन, भारत, अमेरिकासहित नेपालका प्रमुख दलहरूलाई गाली गर्दै स्टाटस लेखेका थिए । तर, चौतर्फी विरोध भएपछि उक्त स्टाटस् डिलेट गर्न बाध्य भए ।
अन्तर्राष्ट्रिय शक्तिले पनि उनको साथ छाड्दै गएको बताइन्छ । त्यसै कारण उनले विश्वशक्ति अमेरिका–चीनलाई पनि अश्लिल शब्दमा गाली गरेको चर्चा भइरहेको छ । बालेन विगतमा पनि आफ्ना विरोधिवरुद्ध यसरी नै खनिने गरेका थिए, जसरी शनिबार राति अमेरिका, चीन र भारतविरुद्ध खनिए ।
उनको उक्त स्टाटसप्रति धेरैले आपत्ति जनाएका छन् । आलोचकहरूले बालेनको भाषालाई अशोभनीय भन्दै उनको छविलाई धुमिल हुने टिप्पणी गरेका छन् । केही समर्थकहरूले भने यसलाई राष्ट्रिय स्वाभिमानको अभिव्यक्ति भनेर बचाउ गरेका छन्, तर आलोचना व्यापक छ ।
त्यसअघि उनको “किसानलाई फोहोरी” भन्ने कविता पनि विवादित बनेको थियो । ‘सत्यको कुनै एउटा पहिचान, कुनै नाम हुँदैन’बाट कविता सुरु गरेका उनले छैटौँ हरफमा किसानलाई ‘फोहोरी’का रूपमा प्रस्तुत गरेका थिए । जसको व्यापक आलोचना भयो ।
श्रमिक, किसान, मजदुरप्रति बालेनको धारणा पहिलेदेखि नकारात्मक भएको भन्दै आलोचना भयो । कृषी सम्बन्धी संघसस्थाले बालेनले किसानलाई अपमान गरको भन्दै विरोध जनायो । मेयर साहले कवितामा किसानलाई होच्याउने र स्वाभिमानमा चोट पुग्ने गरी अपमान गरेको भन्दै माफी समेत गरेका थिए । तर, बालेन त्यो विषयमा पनि मौन बसे ।
हर्कसँगको खटपट
अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौंका बालेन र धरानका हर्क साम्पाङ स्वतन्त्र रूपमा मेयर बनेका थिए । प्रारम्भमा सम्बन्ध सौहार्दपूर्ण भए पनि जेन–जी आन्दोलनपछि तीव्र दरार देखा पर्यो ।
जेनजी आन्दोनपछि प्रधानमन्त्री दाबी गर्न हर्क धरानबाट काठमाडौं आए । अन्तरिम सरकार गठनका लागि नेपाली सेनासँग भएको छलफलमा समेत सहभागी भए । तर काठमाडौंका मेयर बालेनले हर्कको सट्टा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरे । र, कार्की नेतृत्वमै अन्तरिम सरकार गठन भयो । त्यसयता हर्कले सामाजिक सञ्जालमा बालेनप्रति तीव्र असन्तुष्टि जनाए ।
प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएपछि हर्कको आक्रोश चुलिएको छ । उनले बालेनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा कटाक्ष, आरोप र गालीपूर्ण अभिव्यक्तिहरू निरन्तर दिइरहेका छन् ।
हर्क सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका बेला बालेन भने शान्त देखिए । उनले हर्कलाई चिढ्याउनेभन्दा पनि फकाउने प्रयास गरे । उनले स्टाटस लेख्दै भनेका थिए– “डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एकतर्फी नै सही, तर मेरो माया साँचो हो । युआर माई ट्रु लभ ।’
तर बालेनको यस्तो प्रेमपूर्ण अभिव्यक्तिले पनि हर्कको आक्रोश कम भए । फेसबुकमा लगातार स्टाटसले लेख्दै बालेनमाथि खनिरहेका छन् । अझै बालेन र हर्कबीचको सम्बन्ध अझै सुध्रिएको छैन ।
गृहमन्त्रीसँग पनि विवाद
मेयर बालेन र गृहमन्त्री ओमप्रकाश अर्यालबीचको सम्बन्ध पनि बिग्रिएको छ । अर्याल लामो समय बालेनका कानुनी सल्लाहकार थिए । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा अर्याललाई गृह तथा कानुन मन्त्री बनाउँदा बालेनको पनि भूमिका रहेको भनिन्छ ।
तर पछिल्ला निर्णय र प्रहरी प्रशासनमा देखिएको टकरावले सम्बन्ध चिसिएको हो । केही समयअगाडि मेयर बालेन र उनका निकटवर्तीहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दबाब दिइरहेको चर्चा चलेको थियो । यद्यपि अहिले त्यो चर्चा केही सेलाएको देखिए पनि फेरि एकपटक गृहमन्त्री आर्याल र मेयर बालेन आमनेसामने भएका छन् ।
बालेनले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गराउने दबाब बालेनले दिएको तर काम हुन नसकेपछि गृहमन्त्री अर्यालको उपादेयता सकिएको ठान्दै बालेनले हटाउने प्रयास गरेका थिए ।
ओली र लेखक मात्र नभई अन्य केही पात्रलाई पनि पक्राउ गर्नुपर्ने माग राख्दै आएका बालेनको दबाब सरकारको कानूनी धारा पल्टाउन पुग्दा उनी असन्तुष्ट बनेका छन् । यो विवाद केही समयअघि सामाजिक सञ्जालमा व्यापक थियो । सामाजिक सञ्जालमा गृहमन्त्री अर्याललाई हटाउन ट्रेन्ड नै चल्यो । बालेनको टिमले ट्रेन्डमार्फत उनलाई राजीनामा दिन बाध्य पार्ने वा प्रधानमन्त्री कार्कीलाई लगाएर हटाउने रणनीति अघि बढाएको थियो ।
तर ओली र लेखकलाई पक्राउ नगरेको निहुँ बनाउँदै अर्याललाई हटाउने प्रयास तीब्र भएपछि बालेनमाथि समेत तीव्र आलोचना भएको थियो ।
गृहमन्त्री अर्याल र मेयर बालेनबीचको सम्बन्ध खटपटको चर्चा सेलाउन नपाउँदै दुई निकायका प्रहरी आमनेसामन्ने भएका छन् । आइतबार महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा अवैध रूपमा निर्माण भएका भौतिक संरचनामा डोजर चलायो ।
महानगर प्रहरी बिहानै डोजरसहित प्रभागमा पुगेको थियो । सम्पदा जग्गामा अवैध अतिक्रमण गरेर बिट खडा गरिएको भन्दै महानगरले संरचना हटाउने तयारी गरेको थियो । तर, अनाधिकृत ट्राफिक प्रहरी प्रभाग हटाउने तयारी भएको सुईको पाएपछि गृहमन्त्री आर्यालले डिएसपीको कमाण्डमा फोर्स खटाएका थिए ।
राम मन्दिर परिसरमा रहेको ट्राफिक कार्यालय भत्काउन महानगरले ठूलो संख्यामा नगरप्रहरी पठाएको थियो भने त्यसलाई रोक्न नेपाल प्रहरीको पनि बाक्लो उपस्थिती थियो । महानगरले ट्राफिक प्रहरी प्रभाग हटाउन कुनै समन्वय नगरेको प्रहरीले जनाएको छ । अन्ततः, विवादपछि ट्राफिक प्रहरी प्रभाग तत्काल भत्काउने काम रोकिएको छ ।
यी निरन्तर विवाद र आलोचनाहरूपछि बालेनले तत्काल पार्टी गठनबाट पछाडि हटेका छन् । यी घटनाले उनको राजनीतिक परिपक्वता, व्यवहार र सार्वजनिक अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठाएको छ ।











