Logo
Logo

३० यातायात कार्यालयमा लाइसेन्स र ब्लुबुक रिन्यु सेवा सुरू, नयाँ ट्रायल अर्को साताबाट सम्भावना


1.3k
Shares

काठमाडौँ । जेन–जी आन्दोलनको क्रममा आगजनीका कारण प्रभावित यातायात कार्यालयहरूले पुनः नियमित सेवा सञ्चालन गर्न थालेका छन् ।

The current image has no alternative text. The file name is: Yatayat.gif

काठमाडौँ उपत्यकामा चाबहिलबाहेकका कार्यालयहरूले सवारी चालक अनुमति पत्र लाइसेन्स र ब्लुबुक रिन्यु, ट्रायल पास भई राजस्व तिर्न बाँकीका राजस्व संकलनजस्ता सेवा सञ्चालन गरिरहेका छन् । चाबहिल कार्यालयमा भने नेटवर्किङको काम अन्तिम चरणमा पुगेको र छिट्टै सेवा सुरू हुने तयारी भइरहेको विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागका अनुसार देशभरका ४२ मध्ये हालसम्म ३० वटा कार्यालय पुनः सिस्टममा जोडिएका छन् । विभागका कुल ४२ कार्यालयमध्ये ३० वटा कार्यालयले अहिले सेवा दिइरहेका छन् । बाँकी ५ वटा कार्यालय पूर्ण रूपमा ध्वस्त भएकाले पुनर्निर्माणपछि मात्रै सञ्चालनमा आउनेछन्।

विभागका अनुसार बिर्तामोड, इटहरी, लहान, चितवन र कास्कीका कार्यालयहरू सबैभन्दा बढी क्षतिग्रस्त भएका छन् । ती कार्यालयले भवन पुनर्निर्माण, नेटवर्किङ, कम्प्युटर तथा अन्य उपकरण खरिदपछिमात्र सेवा सुचारु गर्न सक्नेछन् ।

हाल लाइसेन्स र ब्लुबुक नवीकरणजस्ता नियमित सेवा सञ्चालन भए पनि नयाँ ट्रायल परीक्षण भने अझै सुरु भएको छैन । विभागले यो हप्ताको अन्त्यतिर वा अर्को हप्तादेखि नयाँ लाइसेन्सको सेवा पनि सुरू गर्ने तयारी गरेको छ ।

भदौ २४ गतेको आन्दोलनका क्रममा विभागको डाटा सेन्टर, विद्युतीय लाइसेन्स प्रणाली र सवारी दर्ता प्रणालीमा क्षति पुगेको थियो । अहिले विभागले ती प्रणाली पुनः सञ्चालनमा ल्याएको छ ।

आजदेखि नागरिक एपमा लाइसेन्ससम्बन्धी विवरण अद्यावधिक गर्ने तयारी भइरहेको छ । लोड हेरेर भोलिबाट अति आवश्यक परेकाहरू—जस्तै वैदेशिक रोजगारी, विदेश अध्ययन, कूटनीतिक मिसन वा अत्यावश्यक सेवाका लागि—लाइसेन्स प्रिन्ट सेवा पनि सुरू गरिने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्