Logo
Logo

विकासोन्मुख देशका लागि उन्नतस्तरको समर्थन आवश्यक : राष्ट्रपति पौडेल


252
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकासोन्मुख देशहरूको समृद्धि र सामाजिक विकासका लागि स्रोत, प्राविधिक ज्ञान र सीपसँगै न्याय, समावेशिता र साझा जिम्मेवारीमा आधारित उन्नतस्तरको समर्थन आवश्यक भएको बताएका छन् ।

The current image has no alternative text. The file name is: rastrapati-1.jpg

कतारको दोहा आयोजित दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, “विकासोन्मुख देशहरूलाई न्यायपूर्ण विश्व व्यापार प्रणाली, विकास सहायताका प्रतिबद्धता, जलवायु वित्त, प्रविधि हस्तान्तरण र लगानीको आवश्यकता छ ।” उनले गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षामा सबैको पहुँच सुनिश्चित गर्नु नेपालको प्राथमिकता भएको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले नेपालको समावेशी शासन, महिला, युवा, आदिवासी, दलित र अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरणमा जोड दिंदै सामाजिक विकासमा उल्लेखनीय उपलब्धिहरूको विवरण प्रस्तुत गर्नुभयो। सन् १९९५ देखि गरिबी आधा घटेको, दिगो विकास लक्ष्यमा प्रगति विश्वको औसतभन्दा बढी रहेको र ९५ प्रतिशतभन्दा बढी नेपालीले स्वच्छ ऊर्जा प्रयोग गर्दै आएको बताए

उनले नेपालमा हाल सञ्चालन भइरहेका करिब ९० सामाजिक सुरक्षा कार्यक्रमले वृद्धवृद्धा, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्दै आएको र संविधानले महिला, दलित र आदिवासीको प्रतिनिधित्व सुनिश्चित गरेको पनि स्मरण गराए ।

राष्ट्रपति पौडेलले गत भदौ २३–२४ मा जेन–जी आन्दोलन भए पनि संविधान र लोकतान्त्रिक प्रणाली जोगाएर प्रतिनिधिसभा निर्वाचन घोषणा गरिएको उल्लेख गर्दै निर्वाचनले सुशासन र समृद्धिको मार्ग सुनिश्चित गर्ने विश्वास व्यक्त गरे ।

जलवायु परिवर्तनका प्रभाव, विशेषगरी नेपालमा परेको असमानुपातिक असर र अतिकम विकसित मुलुकहरूको चुनौतीको पनि उहाँले जानकारी दिए । राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय समुदायले ठोस सहयोग र समन्वयात्मक कदम चाल्नु विकासोन्मुख मुलुकका लागि महत्त्वपूर्ण भएको र दोहा घोषणापत्रले समानता, समावेशिता र दिगो विकास सुनिश्चित गर्ने आधार तयार गर्ने विश्वास व्यक्त गरे ।

संक्षिप्त तथ्य

-नेपालले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र लैङ्गिक समानतामा उल्लेखनीय प्रगति गरेको छ ।
-मातृ–बाल मृत्युदर घटेको, सरदर आयु बढेको। ९० भन्दा बढी सामाजिक सुरक्षा कार्यक्रमले लक्षित समूहलाई सहयोग गर्दै आएको ।
-दोहा घोषणापत्रले विकासोन्मुख देशका लागि साझा जिम्मेवारी र उन्नतस्तरको समर्थन आवश्यक भएको आह्वान गरेको ।

प्रतिक्रिया दिनुहोस्