काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा गरिएको नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज बुधवार सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीश सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र सारङ्गा सुवेदीको इजलासमा पेसी तोकिएको हो ।

गत भदौ २३-२४ को जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई भदौ २७ मा प्रधानमन्त्री नियुक्त गरेका थिए । अधिवक्ता डा। पुण्यप्रसाद खतिवडाले उक्त नियुक्ति बदर गर्न माग गर्दै रिट दायर गरेका छन् ।
रिटमा भनिएको छ-संविधानको धारा ७६ अनुसार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री बन्न मिल्दैन । धारा १३२(९) ले पनि यस्तो योग्यता रोकेको छ । राष्ट्रपतिले संविधानको ठाडो उल्लङ्घन गरेका छन् । उनलाई बाधा अड्काउ फुकाउने अधिकार छैन, धारा ३०५ को समयसीमा पनि सकिएको छ । रिटमा राष्ट्रपति, प्रधानमन्त्री कार्की, नेपाली सेना, राजनीतिक दल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र सभामुख देवराज घिमिरेलाई विपक्षी बनाइएको छ ।











