काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले कमजोर र ओरालो लागेका शक्तिहरूको एकताले देशलाई निकास नदिने, बरु जनतालाई झुक्याउने मात्र बताएका छन् । बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीले नेकपा (माओवादी केन्द्र) सँग गर्न लागेको एकताको दस्तावेजलाई ‘संकटमोचनको गलत फर्मुला’ भन्दै कडा आपत्ति जनाएका हुन् ।

‘कमजोरहरूको एकताले उकालो लागिन्छ भनेर भाष्य बनाउन खोजिँदै छ, तर जो आफैँ ओरालो हिँडिरहेका छन्, तिनको एकताले निकास दिँदैन,’ भूसालले भने । एमालेबाट विद्रोह गर्दा समाजवादको जिम्मा लिएका थियौँ, अहिले कहाँ पुग्यो रुएमाले विभाजन गरेर एकीकृत समाजवादी बनाउँदा ‘समाजवादको जिम्मेवारी हाम्रो काँधमा आयो’ भनिएको स्मरण गर्दै उनले प्रश्न गरे-‘त्यो जिम्मेवारी के भयो ? पुनर्गठन र रूपान्तरणमा हामीले के गर्यौँ ? सामान्य समीक्षा पनि नगरी फेरि पुरानै ठाउँमा लगेर बुझाउनु के हो ?’
भूसालले एकताका लागि तयार दस्ताबेज पढेको र त्यसमा मुलुकले भोगिरहेको दबाब तथा परिवर्तनको कुनै संकेत नभएको बताए । ‘यस्तो एकताले परिवर्तन बोल्दैन, जनतालाई झुट बोल्छ र धोका दिन्छ मात्र,’उनको चेतावनी छ । महासचिव भूसालले पार्टीभित्र छलफल र आत्मसमीक्षा बिना गरिएको एकता प्रक्रियाले दीर्घकालीन हित नगर्ने भन्दै नेतृत्वलाई सचेत गराए ।











