
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २३ मा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग स्पष्टीकरण सोधेको छ ।
मागको विवरण उपलब्ध नगराएको आरोपमा आयोगले बुधबार पत्र पठाउँदै आईजीपी खापुङलाई ‘तपाईंलाई किन कारबाही नगर्ने ?’ भनी स्पष्टीकरण सोधेको हो । आयोगका प्रवक्ता पूर्वएआईजी विज्ञानराज शर्माले आईजीपी खापुङलाई २४ घण्टे स्पष्टीकरण सोधिएको जानकारी दिए ।
जाँचबुझ आयोगले तीन सातादेखि भदौ २३ र २४ गते कार्यक्षेत्रमा खटिएका प्रहरीहरूको विवरण मगाएको थियो । जवाफमा प्रहरी मुख्यालयले त्यो दिन आईजीदेखि प्रहरी जवान फिल्डमै रहेको जवाफ दिएपछि असन्तुष्ट बनेको आयोगले आइजीपीसँगै स्पष्टीकरण सोधेको हो । जेनजी आन्दोलनका बेला उपत्यकाका बृत्तहरुमा खटिएका इन्चार्जहरु परिवर्तन भइसकेका छन् ।











