काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले माधवकुमार नेपालसहितका नेताहरू माओवादी पार्टीमा विलीन भएर आफ्नो राजनीतिक अस्तित्व गुमाएको टिप्पणी गरेका छन् ।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित ‘घर फर्क अभियान’ घोषणा सभालाई सम्बोधन गर्दै उनले एमालेको सिद्धान्तमा अडिग रहँदै बलियो पार्टी निर्माण गर्ने सङ्कल्पलाई बेवास्ता गरी माधव नेपालको नेतृत्वमा रहेका नेताहरूले पार्टीलाई माओवादीमा विसर्जन गराएको बताए ।
‘वास्तवमा माधव नेपालको नेतृत्वमा नेकपा एमालेको मान्यतामा अडिग रहेर बलियो पार्टी बनाउने सङ्कल्प आज माओवादी केन्द्रमा विलीन भएर समाप्त भएको छ,’ पोखरेलले भने । राष्ट्रमाथि संकट आइपरेको बेला सधैँ एमालेले अगुवाइ गरेको उनले स्मरण गराए । ‘नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा जतिबेला राष्ट्रमाथि चुनौती आउँछ, त्यतिबेला नेकपा एमालेले सङ्कटबाट बाहिर निकाल्न अग्रणी भूमिका निर्वाह गर्छ भन्ने कुरा इतिहासले प्रमाणित गरेको छ,’ उनले भने ।














