काठमाडौं । नेपाल वायुसेवा निगम नेवानिका महाप्रबन्धकलाई खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने प्रक्रिया ढिलो भएपछि प्रधानमन्त्री सुशीला कार्कीले पर्यटन सचिव हरिप्रसाद मैनालीसँग स्पष्टीकरण मागेकी छन् ।

पर्यटन मन्त्रालयको विभागीय जिम्मेवारी प्रधानमन्त्रीकै मातहतमा रहेको छ । प्रधानमन्त्री कार्कीले गत १४ कात्तिकमा सचिव मैनालीको संयोजकत्वमा छनोट समिति गठन गर्दै एक महिनाभित्र योग्य उम्मेदवार सिफारिस गर्न निर्देशन दिएकी थिइन् । तर, समितिको एकपटक पनि बैठक नबसेपछि प्रधानमन्त्री असन्तुष्ट बनेकी हुन् ।
प्रधानमन्त्रीले अर्थ सचिव घनश्याम उपाध्यायको उपस्थितिमा सचिव मैनालीलाई स्पष्टीकरण मागेकी थिइन् । जवाफमा मैनालीले कार्यविधि तयार भएको र आफू विदेशमा रहेकाले बैठक बस्न नसकेको कारण बताए ।
उनी यसबीचमा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनात्मक कार्यक्रममा सहभागी हुन विदेश गएको बताइएको छ । स्रोतका अनुसार, प्रधानमन्त्रीले “बैठकै नबसी कार्यविधि कसरी तयार भयो” भन्ने प्रश्न पनि उठाइन् ।
प्रधानमन्त्री कार्कीले एक व्यक्तिको कारणले सरकारको कामकाज प्रभावित हुनु नहुने चेतावनी दिँदै प्रक्रिया तुरुन्त अघि बढाउन निर्देशन दिइन् । यसपछि सचिव मैनालीले आजै बैठक बोलाएर बाँकी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।
हाल नेपाल वायुसेवा निगम नेतृत्वविहीन अवस्थामा छ । जनकराज कालाखेती निमित्त महाप्रबन्धकका रूपमा कार्यरत छन् भने पूर्व कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकाल ७ कात्तिकमा सकिएको थियो ।














