दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको लालकिल्ला नजिक भएको कार विस्फोटका दोषीहरूलाई छाडिने छैनन् भन्दै कडा चेतावनी दिएका छन्। गएराति भूटान भ्रमणका क्रममा मोदीले घटनाका जिम्मेवार सबैले कडा सजाय भोग्ने बताएको बीबीसीले जनाएको छ।

थिम्पुमा आयोजित कार्यक्रममा मोदीले भारतीय अनुसन्धान एजेन्सीहरूले यस मामिलाको सबै तहसम्म पुग्ने जानकारी दिनुभयो। यस्तै, ‘दिल्ली रक्षा संवाद’ का क्रममा भारतीय रक्षामन्त्री राजनाथ सिंहले पनि लालकिल्ला मेट्रो स्टेशन नजिक भएको घटनाको अनुसन्धान भइरहेको र जिम्मेवार व्यक्तिहरूलाई न्यायको कठघरामा ल्याइने आश्वासन दिए। अनुसन्धानको नतिजा छिटै सार्वजनिक गरिने बताए।
हालसम्म आठ जनाको ज्यान गएको उक्त घटनाबारे सरकार वा सम्बन्धित निकायबाट आधिकारिक विवरण आएको छैन। अधिकारीहरूले विस्फोटका सबै कोणबाट छानबिन शुरु गरिएको बताएका छन्। भारतीय गृहमन्त्री अमित शाहले पनि घटनाबारे सबै सम्भावनाहरूको अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
ऐतिहासिक महत्वको लालकिल्लामा दैनिक हजारौं आन्तरिक र विदेशी पर्यटक आउने गर्दछन्। विस्फोटपछि पुरातत्त्व विभागले तीन दिनका लागि क्षेत्र बन्द गरिएको जनाएको छ। सोमबार रातिदेखि दिल्ली र वरिपरिका क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ भने मुम्बईमा पनि उच्च सतर्कता अपनाइएको छ।











