काठमाडौं । आगामी राष्ट्रिय सभा निर्वाचनका लागि राजनीतिक दलहरूको दर्ता प्रक्रिया मंसिर १ गतेदेखि सुरु हुँदै १० गतेसम्म चल्ने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ता स्वीकृति र निर्वाचन चिह्न वितरण मंसिर १४ गते हुनेछ ।

त्यसपछि निर्वाचन कार्यक्रम स्वीकृत गरी नेपाल राजपत्रमा मंसिर १६ गते प्रकाशित गरिने तालिका तय भएको छ ।
मतदाता नामावली ९निर्वाचक मण्डल० तयार र स्वीकृत गर्ने काम पुस ५ गतेसम्म पूरा गरिनेछ । सोही दिन मतदान स्थल तथा मतदान केन्द्र निर्धारणको काम पनि गरिनेछ ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना पुस १६ गते हुनेछ भने निर्वाचन कार्यक्रम सञ्चालन पुस २० देखि २८ गतेसम्म रहनेछ । प्रचार–प्रसारको समय पुस २८ देखि माघ ८ गतेसम्म तोकिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ र सोही दिन मतगणना सुरु गरिनेछ ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू मतदाता हुनेछन् । प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ रहनेछ ।
प्रदेशगत मतभार अनुसार कोशीमा १० हजार १३५, मधेशमा १० हजार ८३९, बागमतीमा १० हजार ३५२, गण्डकीमा ६ हजार ४१०, लुम्बिनीमा ८ हजार ७५३, कर्णालीमा ५ हजार १२२ र सुदूरपश्चिममा ६ हजार १५३ मतभार कायम गरिएको छ ।
राष्ट्रिय सभामा रिक्त १९ मध्ये १८ पदका लागि यसपटक चुनाव हुँदैछ । मनोनीत सदस्य वामदेव गौतमको पदमा सरकारले नयाँ व्यक्ति सिफारिस गर्नेछ । बाँकी १८ पदका लागि हुने निर्वाचनमा मधेश प्रदेशबाट ४ जना, कोशी र लुम्बिनीबाट ३–३ जना, बागमती र गण्डकीबाट २–२ जना, कर्णाली र सुदूरपश्चिमबाट २–२ जना सदस्य निर्वाचित हुनेछन् ।
वि.सं. २०७६ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल सकिँदै गएकोले उनीहरूको स्थानमा नयाँ सदस्य चयन गर्न यो निर्वाचन हुन लागेको हो ।














