दिल्ली । भारत सरकारले राजधानी दिल्लीमा भएको कार विस्फोटलाई आतङ्कवादी हमला घोषित गरेको छ । लालकिल्ला नजिकै सोमवार बेलुकी भएको उक्त विस्फोटमा आठ जनाको मृत्यु र २० जना घाइते भएका थिए ।

बुधवार साँझ सम्पन्न सुरक्षा बैठकपछि प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको कडा शब्दमा निन्दा गर्दै यो देशविरोधी शक्तिहरूको कायरतापूर्ण आक्रमण भएको बताएका छन् ।
विस्फोटबारे अनुसन्धान जारी रहेको र अहिलेसम्म कसैको नाम सार्वजनिक नभएको अधिकारीहरूले जनाएका छन् । मन्त्रिपरिषद्ले पनि विस्फोटलाई “राष्ट्रविरोधी शक्तिहरूद्वारा रचिएको जघन्य आतङ्कवादी घटना” भन्दै निन्दा गरेको छ । भारतले आतङ्कवादविरुद्ध शून्य सहनशीलताको नीति कायम राख्ने प्रतिबद्धता दोहोर्याएको छ ।
लालकिल्ला अगाडि रहेको मेट्रो स्टेशन नजिक रातो बत्तीमा रोकिएको कार विस्फोट भएको थियो ।
यसैबीच, अमेरिकाले पनि दिल्ली विस्फोटको अनुसन्धानमा भारतलाई सहयोग गर्ने प्रस्ताव गरेको छ । जी–सेभेन बैठकका क्रममा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय समकक्षी एस जयशंकरलाई सहयोगको प्रस्ताव राखेका हुन् ।











