गुल्मी । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले आफ्नो राजनीतिक जीवन एमालेबाटै निर्माण भएको बताउँदै स्मृति र विमृतिमा सधैँ एमालेसँगै रहेको उल्लेख गरिन् । शनिवार गुल्मी सदरमुकाम तम्घासमा नेकपा एमाले गुल्मीले आयोजना गरेको जनसभामा बोल्दै उनले विगतका केही वर्षको स्मरण गर्दै आफ्नो मन्तव्य सुरु गरिन् ।

पछिल्लो समय उठेका जेनजी विद्रोहसम्बन्धी मुद्दालाई स्पष्ट पार्दै उनले जनतालाई भ्रममा नपर्न आग्रह गरिन् । ‘हामी जेनजीका जायज मागका पक्षमा छौँ, तर जेनजीको नाममा सार्वजनिक सम्पत्तिको क्षति र सार्वभौम सत्तामाथि भएको अपराध कुनै नेपालीले क्षम्य गर्न सक्दैन,’ उनले भनिन् । झाँक्रीले जेनजी पुस्तासँग घर–घरमा संवाद र बुझाइ आवश्यक रहेको बताइन् ।
‘जेनजीले सार्वजनिक सम्पत्ति क्षति गर्दैनन्, तर केही समूहले विद्रोहको नाममा देशभर गरेको विध्वंस आपराधिक क्रियाकलाप हो,’ उनको भनाइ छ । संविधान र राष्ट्रिय सार्वभौमसत्ताको रक्षा एमालेको प्रमुख दायित्व भएको उनले जोड दिइन् । ‘सिंहदरबार, संसद् र अदालतसम्म राष्ट्रिय झण्डा बोकेर हिंसात्मक गतिविधि गर्नेहरूलाई नेपाली समाजले गम्भीर प्रश्न गर्नुपर्छ,’ उनले भनिन् । ‘घाँटीमा राष्ट्रिय झण्डा बाँधेर दनदनी आगो लगाउनेलाई नेपाली भन्न सकिन्छ ?’ उनले प्रश्न गरिन् ।














