काठमाडौं । लगातार बढ्दो खराब कर्जा, घट्दो ब्याज आम्दानी र ऋणात्मक वितरणयोग्य नाफाले दबाबमा परिरहेको एनआइसी एसिया बैंकले व्यवस्थापनमा ठूलो परिवर्तन गर्दै पूर्वकर्मचारी सुजितकुमार शाक्यलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ । गत सोमबार बसेको सञ्चालक समितिको बैठकले शाक्यलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । तत्कालीन सिइओ रोशनकुमार न्यौपानेले दोस्रो कार्यकाल पूरा नहुँदै राजीनामा दिएपछि रिक्त पदमा शाक्यलाई ल्याइएको हो ।

शाक्य बैंकका पूर्वकर्मचारी भएका कारण संस्थालाई नजिकबाट चिनेका छन् । ग्लोबल आईएमई बैंकमा डेपुटी सिइओ र पछिल्लो पाँच वर्ष नबिल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत शाक्यलाई बैंकिङ क्षेत्रले ‘रणनीतिक सोच भएको कार्यकारी’का रूपमा चिन्ने गर्छ । करिब २८ वर्षको बैंकिङ अनुभवका आधारमा उनी अहिलेको जटिल समयमा उपयुक्त नेतृत्व बन्न सक्ने अपेक्षा बैंकभित्र छ ।
तर, नयाँ नेतृत्वको प्रारम्भिक चुनौती भने चालु आर्थिक वर्षको पहिलो त्रैमासको बैंकको वित्तीय सूचकहरूले नै स्पष्ट देखाइदिन्छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणले बैंकको जोखिम परिस्थितिमा तीव्र वृद्धि भएको संकेत गरेको छ । विवरणअनुसार बैंकको खराब कर्जा (एनपीएल) २.७५ प्रतिशत बिन्दुले बढ्दै ६.९९ प्रतिशत पुगेको छ, जुन पछिल्ला वर्षकै सबैभन्दा उच्च दबाब मानिन्छ ।
उता, खुद ब्याज आम्दानी १०.४२ प्रतिशतले घटेर २ अर्ब २८ करोड ६० लाख रुपैयाँमा झरेको छ भने कुल सञ्चालन आम्दानी ९.७७ प्रतिशतले घटेर २ अर्ब ७७ करोड रुपैयाँमा सीमित छ ।
यसबीच, बैंकको खुद नाफा भने १०.५२ प्रतिशतले बढेर १२ करोड २१ लाख रुपैयाँ पुगेको छ । तर बैंकिङ विश्लेषकहरू यो वृद्धि व्यवस्थापन दक्षता वा कर्जा व्यवस्थापन सुधारले नभइ ‘अस्थायी कारक’ले आएको बताउँछन् । बैंकको वितरणयोग्य नाफा ६ अर्ब २४ करोड रुपैयाँमा झरेको अवस्थामा नाफाको वृद्धि बैंकको वास्तविक स्वास्थ्य सुधारको सूचक नभएको उनीहरूको तर्क छ । प्रतिकूल सूचकबीच प्रतिसेयर आम्दानी ३ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ७४ पैसामा सीमित हुनु पनि बैंकका लागि अर्को चेतावनी हो ।
बैंकका महत्वपर्ण सूचकहरू जटिल बन्दै गएसँगै नयाँ सिइओको रुपमा शाक्यको पहिलो लक्ष्य ‘स्टेबिलाइजेसन’ हुनेछ । जोखिमयुक्त कर्जा घटाउने, कर्जा गुणस्तर सुधार गर्ने, आन्तरिक नियन्त्रण कडाइ गर्ने र लागत व्यवस्थापन संयमित बनाउने पक्षमा शाक्यले तत्काल ध्यान दिनुपर्ने बैंकिङ क्षेत्रका जानकारहरूको भनाइ छ ।
तीन दशकको यात्रा पूरा गर्नै लागेको एनआइसी एसिया बैंक अहिले सबैभन्दा संवेदनशील मोडमा पुगेको मानिन्छ । विस्तारक–आक्रामक व्यवसाय मोडल, उच्च स्तरको कर्जा वृद्धि र पछिल्लो समय देखिएको आर्थिक सुस्तताले बैंकलाई दबाबमा ल्याएको थियो । अब यही परिस्थितिमा नयाँ नेतृत्वले बैंकलाई स्थिर मार्गमा फर्काउन सक्ला कि नसक्ला, यही प्रश्न बैंकका सेयरधनीदेखि नियामकसम्म उब्जेको छ ।
यता, बैंकको अध्यक्ष तुलसीराम अग्रवाल छन् । अध्यक्ष अग्रवालले विगतमा निवर्तमान सिइओ रोशन न्यौपानेलाई अस्वभाविक दबाब दिएको र त्यसले बैंकमा जटिलता थपेको विश्लेषण हुने गरेको छ । नयाँ सिइओ शाक्यलाई पनि अग्रवालले अस्वभाविक दबाब दिन सक्ने भन्दै त्यसतर्फ सचेत हुन जानकारहरूले सुझाव दिएका छन् ।
आक्रामक व्यापार रणनीति पछ्याउँदै अगाडि बढेको एनआइसी एसिया अर्थतन्त्रको सुस्ततासँगै कमजोर बन्दै गएको छ । विगतमा कर्जा विस्तारको होडबाजी नै चलेकोमा अहिले सो अनुरुप असुली हुन नसक्दा बैंक दिनदिदै सिथिल बन्दै गएको जानकारहरू बताउँछन् । सञ्चालक र व्यवस्थापनको दबाबलाई झेल्न नसक्दा यस बैंकका कर्मचारीहरूले एकपछि अर्को गरी जागिरबाट छोडिरहेको तथ्य पनि नयाँ सिइओ शाक्यले नजरअन्दाज गर्न मिल्दैन ।
खासगरी न्यौपाने प्रोफेसनल रूपमा चल्न नसक्दा अग्रवाल उनीमाथि हाबी भएका थिए । प्रोफेसनल बैंकरका रूपमा परिचित शाक्य भने एनआइसी एसिया बैंकमा कसरी अगाडि बढ्छन् त्यो आगामी दिनमा देखिँदै जानेछ । तर न्यौपानेले बैंक डुबाएको आरोप लाग्दा शाक्यले डुबानबाट बैंकलाई कसरी उतार्छन्, त्यो हेर्न लायक नै रहने छ ।











