काठमाडौं । राजनीतिक दलको सरकार हटेपछि सुशासन कायम हुन्छ भन्नेमा धेरैजसो नागरिकले सोचेका भए पनि त्यो असम्भवजस्तै देखिएको छ । हिजोसम्म नेताहरूको जोडबलमा सरुवा र बढुवा भएका कर्मचारीहरूलाई अहिलेको सरकारले आफै निर्णय गर्ने अधिकार दिएको छ । आफै निर्णय गर्ने अधिकार प्राप्त भएपछि सुरक्षा अंग र निजामती कर्मचारीहरूले आफू अनुकुलका निर्णय गर्दै आएका छन् । अर्थात उनीहरू ‘फूक्काफाल’ भएर आफूले चाहेको स्थानमा कर्मचारी खटाउने र तीमार्फत स्वार्थ पूर्ति गर्र्दैछन् ।

केही समयअघिबाटै घुमुवाका कारण नेपाल प्रहरी धेरै बिबादित र बदनाम छ । यही अवस्था सशस्त्र प्रहरी बलमा पनि छ । सूचना संकलनको लागि राखिएको भनेर बाहिर जति प्रचार र भाषण गरेपनि यी घुमुवाहरूको काम आर्थिक संकलनको लागि नै परिचालित भएकाले स्थानीयहरू र यूनिटमा रहेकाहरू आजित भएका छन् । जुनसुकै तहका कार्यालयका हाकिम भए पनि उनीहरूले यी घुमुवाहरूलाई आर्थिक संकलनका लागि नै प्रयोग गर्ने गरेका छन् ।
बेलाबखत घुमुवा प्रहरीहरू धेरै बदनाम भए भन्दै अप्रेसनहरू गरेर अन्यत्र सरूवा गरेको पनि देखिन्छ । तर एकाध महिनामा ती घुमुवा जहांबाट लखेटिएका थिए, त्यही फर्केर फेरि घुमुवा भएर असुली कार्यमा लागेका छन् । निरीक्षकदेखि डिआइजी तहसम्म आउदा उनीहरू धेरैले तिनै आफूसँग काम गरेका र आफूलाई रकम उठाएर दिने घुमुवाहरूलाई नै संरक्षण गरेका छन् । अझै आइजिपी भएपछि त प्रदेशको जिम्मेवारी नै दिएर असुलीमा लगाउने गरेको पनि कतिपय सूचनाहरू बाहिर नआएका होइनन् । आइजिपी भएपछि आफ्नो सचिवालयबाट घुमुवा परिचालन गरेर रकम उठाउनेहरू अहिले भ्रष्टाचार बिरोधी भाषण गरेर थाक्दैनन् भन्दै उनीहरूको आलोचनासमेत हुने गरेको छ ।
अहिले पश्चिम नवलपरासी र रूपन्देही जिल्लामा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डिआइजी राजेन्द्रप्रसाद भट्टको घुमुवा भन्दै दुईजना सहायक हवल्दारहरू तस्करदेखि व्यापारी सम्मलाई भेट्दै आएका छन् । संघीय प्रहरी कार्यालयको संघीय व्यूरोमा दरबन्दी भएका सहायक हवल्दार ओमप्रकाश यादव पश्चिम नवलपरासीमा डिआइजी भट्टको नाममा घुमुवा भएर परिचालित छन् । उनले पश्चिम नवलपरासीका तस्करदेखि व्यापारी सम्मलाई फोन गर्ने र भेट्ने गर्दै आइरहेका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेश प्रहरी कार्यालयको भैरहवास्थित अफिसमा काजमा कार्यरत सहायक हवल्दार अखिलेष यादव पनि डिआइजी भट्टको रूपन्देहीको घुमुवा भन्दै हिडिरहेका छन् । उनले पनि रूपन्देहीका तस्करदेखि व्यापारी सम्मलाई फोन गर्ने र भेट्ने गर्दै आइरहेका छन् । उनको नाममा पश्चिम नवलपरासी र रूपन्देहीमा यी घुमुवाहरूको आतंक नै छ ।
जेनजी आन्दोलनले ल्याएको राजनीतिक परिवर्तन र त्यसपछि बनेको सरकारको कार्यकालमा पनि प्रहरीका घुमुवाहरूको असुली धन्दा रोकिएन भन्दै रुपन्देही र नवलपरासीका व्यापारीहरूले जिल्ला प्रशासन कार्यालय गुहार्न थालेका छन् । नेपाल प्रहरीको डिआइजी राजेन्द्रप्रसाद भट्ट शालीन स्वभावका भएपनि मौन बसेका कारण घुमुवाहरूको रजाई चलेको स्रोतको दाबी छ ।











