काठमाडौं । भौतिक पूर्वाधार एवं यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ मन्त्री भएपछि तीन पटक विदेश भ्रमणमा भइसकेका छन् । भारत लगायतका देशमा पुगेका मन्त्री घिसिङले आफू मातहत रहेका कर्मचारीलाई भने विदेश भ्रमणमा रोक लगाएका छन् । मन्त्री घिसिङले सरकारी खर्चमा विदेश भ्रमण गरेका थिए । तर सरकारी कर्मचारीले विदेशी दाताको स्रोत व्यवस्थापनमा भ्रमणमा जान खोज्दा रोकेका हुन् ।

उनले भौतिक र सहरी विकासका दुईजना सह–सचिवहरूको विदेश भ्रमण कार्यक्रम अस्वीकृत गरेर कर्मचारीलाई चिढ्याएका छन् । विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा सहभागी हुन भौतिक पूर्वाधारका सह–सचिव सुशलीबाबु ढकाल तथा सहरी विकास सहसचिव दिलीप भण्डारी यही मंसिरको पहिलो हप्ता एक साताका लागि इटाली जाने कार्यक्रम तय गरिएको भए पनि मन्त्री घिसिङले रोकिदिएका छन् । उनले अर्को मन्त्रालयबाट आएको अफरलाई समेत हस्तक्षेप गरेर रोकेका हुन् ।
सो कार्यक्रम मंसिर ६ गते सुरु भई मंसिर १३ गते समापन हुने तालिका छ । सो कार्यक्रममा विपद् व्यवस्थापन प्राधिकरणका उच्च कर्मचारीहरू पनि सहभागी हुने छन् । उक्त विपद् व्यवस्थापन प्राधिकरण कुलमानले नेतृत्व गरेको मन्त्रालयको मातहतमा पर्दैन ।
मन्त्री घिसिङले भौतिक र सहरीका कर्मचारीहरूको विदेश भ्रमण कार्यक्रम मात्र अस्वीकृत गरेका हुन् । कानुनअनुसार सह–सचिवहरूको विदेश भ्रमण कार्यक्रमलाई मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गराउनु पर्छ । ‘अहिले कुनै पनि कार्यक्रममा विदेश भ्रमण जानु आवश्यक छैन भन्दै उहाँले भ्रमण रोक्नु भयो । तर उहाँ भने दुई महिनामा तीन पटक विदेश पुगिसक्नु भयो’, मन्त्रालयका एक कर्मचारीले दृष्टिसँग भने ।
मन्त्री घिसिङको सचिवालयका अनुसार काम गर्नुपर्ने समयमा सानातिना कार्यक्रममा विदेश जान आवश्यक नरहेको भन्दै मन्त्रीले सह–सचिवहरूको विदेश भ्रमण कार्यक्रम अस्वीकृत गरेका हुन् । ‘अहिले रातदिन खटेर काम गर्नु पर्ने बेला छ ।
यस्तो बेला सानातिना कार्यक्रममा पनि किन विदेश जानु प¥यो भन्दै उहाँ (मन्त्री) ले दुईजना सह–सचिवहरूको विदेश भ्रमण कार्यक्रम अस्वीकृत गर्नु भएको हो’ सचिवालयमा कार्यरत एक कर्मचारीले भने । केही दिनअघि मात्रै सञ्चारमन्त्री जगदीश खरेल कोरिया भ्रमणबाट स्वदेश फर्केका थिए । त्यसअघि अर्थमन्त्री रामेश्वर खनाल र कृषिमन्त्री मदन परियार पनि विदेश गएका थिए ।











