
काठमाडौं । उपसभामुख बबिता राउत ईशरले प्रदेशसभा बैठक बोलाएपछि मधेश भवनमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्तावमाथिको प्रक्रिया अगाडि बढाउन उपसभामुखले दिउँसो १ बजेबाट बैठक आव्हान गरेपछि सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मधेश भवनमा प्रहरी अलर्ट गरिएको हो ।
बैठक सञ्चालनको अन्तिम तयारी भइरहँदा इन्स्पेक्टर विक्रम साहको कमाण्डमा मधेश भवन अगाडि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । बाहिर हतियारी सुरक्षाकर्मी र भित्र मर्यादापालकको बाक्लो उपस्थिति छ ।
तत्कालिन प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि २ सातादेखि अस्तव्यस्त बनेको मधेश प्रदेशको राजनीति अझै सङलिएको छैन ।
त्यहाँ एमाले मुख्यमन्त्री नियुक्तिको पक्षमा र अरु सबै दल विरुद्धमा उभिएका छन् । प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्ति, केन्द्र सरकारबाट प्रदेश प्रमुख परिवर्तन र मुख्यमन्त्रीविरुद्धको सर्वोच्च अदालतको मुद्दाले मधेशको राजनीति यतिबेला गर्माएको छ ।
सँगै सभामुखलाई हटाउन मागसहित ७ राजनीतिक दलले बुझाएको अविश्वासको प्रस्ताव कायमै छ । हिजो विपक्षी दलका २५ प्रतिशत सांसदहरूले हस्ताक्षर गरेर उक्त प्रस्तावमाथि छलफल चलाउन सदन डाक्न आग्रह गरेका थिए । यता सर्वोच्च अदालतले सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिएको छ ।
सभामुख मण्डलले भने बैठक आह्वान गर्ने जिम्मेवारी सचिवको रहेको बताउँदै उपसभामुखले विधि र प्रक्रिया मिचेको बताएका छन् । एमाले पनि शक्ति प्रदर्शनसहित सडकमा आएको छ । साथै ७ दल पनि संघर्षमा रहेकाले मुठभेड हुने सम्भावनालाई मध्यनजर गर्दै मधेश भवनमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।











