काठमाडौँ । सशस्त्र प्रहरी बलमा ३ जना डीआईजीको दरबन्दी थप गर्ने निर्णय गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी बल नेपालको सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत गर्दै ३ जना डीआईजीको दरबन्दी थपेको हो ।

सशस्त्रमा ३ जना डीआईजीको दरबन्दी स्वीकृत भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । यसअघि सशस्त्रमा २ जना प्राविधिक सहित १८ डीआईजीको दरबन्दी थियो ।
अब ३ जना थपिएसँगै सशस्त्रमा २१ जना डीआईजी हुनेछन् । सशस्त्रको कानुन महाशाखा, विपद् व्यवस्थापन महाशाखा र इन्टेलिजेन्स ब्यूरोलाई अब डीआईजीले कमाण्ड गर्नेछन् ।
कानुन महाशाखालाई निर्देशनालय र विपद् व्यवस्थापन महाशाखालाई पनि निर्देशनालयमा परिणत गर्ने प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
कीर्तिपुरमा रहेको निलबाराही गणलाई दंगा नियन्त्रण गर्न बनाउने निर्णय भएको छ । १ हजार फौज सहित सो गणको कमाण्ड अब एसएसपीले गर्नेछन् ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जवान, हवलदारलाई १६ वर्षमा र जुनियर अफिसरलाई १८ वर्षमा पेन्सन सुविधा दिनुपर्ने प्रस्ताव गरेको थियो ।
सो प्रस्ताव चाहिँ मन्त्रिपरिषद्मा छलफलमै रहेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने अहिलेको आर्थिक सङ्कटको अवस्था र निर्वाचनलाई केन्द्रमा राखेर पेन्सनबारे कुनै निर्णय भएको छैन ।











