काठमाडौं । मेडीकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँका समर्थकहरूले आफूलाई ‘नेपालका लागि नेपाली’ नाम दिएको एउटा ह्याकर समूहले पाँचवटा सरकारी तथा सार्वजनिक संस्थाका वेबसाइट ह्याक गरेको दाबी गरेको छ ।

समूहले नेपाल विद्युत् प्राधिकरण, सडक विभाग, उद्योग विभाग, मिर्मिरे लघुवित्त वित्तीय संस्था र इन्द्रावती क्याम्पसको वेबसाइट तथा सर्भरमा सफल आक्रमण गरेको जनाएको छ । यसैबीच, उक्त समूहले वर्तमान सरकारविरुद्ध ‘साइबर युद्ध’ को घोषणा गर्दै दुर्गा प्रसाईँलाई तत्काल रिहा नगरे थप सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र डाटा सेन्टरमा व्यापक आक्रमण गर्ने चेतावनी दिएको छ ।
समूहले भनेको छ, ‘हामीले दुर्गा प्रसाईँको रिहाइका लागि सरकारलाई पटक-पटक अल्टिमेटम दियौँ, तर बेवास्ता गरियो । उनको गिरफ्तारी पूर्णतः अलोकतान्त्रिक र राजनीतिक प्रतिशोध थियो । अब हामी अन्तरिम सरकारसँग सम्बन्धित सबै डिजिटल सम्पत्तिमाथि निरन्तर आक्रमण गर्नेछौँ ।’
समूहले आफूसँग नेपालका सबैजसो डाटा सेन्टरमा पहुँच रहेको र तिनलाई पूर्ण रूपमा क्षति पुर्याउन सक्ने क्षमता भएको दाबीसमेत गरेको छ । तर, समूहले नाम लिएका कुनै पनि संस्थाका वेबसाइटमा अहिलेसम्म कुनै अवरोध वा ह्याक भएको जनाइएको छ । ती सबै वेबसाइट सामान्य रूपमा सञ्चालन भइरहेका छन् ।












