
काठमाडौं । बुधबारदेखि तनावग्रस्त बनेको बाराको सिमराको अवस्था सामान्य बन्दै गएको छ । अवस्था सामान्य बन्दै गएकाले गएराति ८ बजेदेखि कफ्र्यु आदेश थप नगरिएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका सिमरा क्षेत्रमा कफ्र्यु आदेश जारी भएको थियो । त्यसअघि गएको बुधबार पनि दिनभर सिमरामा कफ्र्यु लगाइएको थियो ।
बुधबार एमालेले सिमरामा गर्न लागेको कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत जाने थाहा पाएपछि जेनजी युवाहरुले विरोध प्रदर्शन गरेका थिए । सो क्रममा जेनजीले सिमरा विमानस्थलको गेटसमेत तोडफोड गरेका थिए भने स्थानीय एमाले कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि कुटपिट गरेका थिए ।
जेनजीमाथि कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । जाहेरी परेका तीन जना भने पक्राउ परेका छैनन् ।
घटनामा संलग्न सबैलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गर्दै जेनजीले बिहीबार पनि सिमरामा प्रदर्शन गरेका थिए ।त्यसक्रममा उनीहरु पथलैया वीरगञ्ज सडकखण्ड अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गर्दा केहीबेर झडपसमेत भएको थियो ।











