Logo
Logo

शान्ति सम्झौताको मर्म र ‘जेनजी’ युवाको आवाज एउटै छन्, त्यसलाई पूरा गरौँ : प्रचण्ड


315
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा विस्तृत शान्ति सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्तिसम्झौता भएको १९ वर्ष पुगेको अवसरमा आज शुभकामना दिँदै प्रचण्डले सामाजिक न्याय, सुशासन, आर्थिक समानता तथा समृद्धिका मुद्दा पूरा नभएसम्म जनयुद्ध र शान्ति सम्झौताको मर्म तथा भावना अधुरै रहने बताए ।

शान्ति सम्झौताका प्रमुख हस्ताक्षरकर्तामध्ये एक तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाप्रति विशेष स्मरण र सम्मान व्यक्त गर्दै उनले जीवित हस्ताक्षरकर्ताका रुपमा यस प्रक्रियामा योगदान पु¥याउनु हुने सबैप्रति सम्मान व्यक्त गरे । ‘नयाँ एकीकरण र ध्रुवीकरणवाट बनेको नेपाली कम्युनिष्ट पार्टीले शान्ति सम्झौतामा आफ्नो राजनीतिक स्वामित्व र जिम्मेवारी बहन गर्दै बाँकी कार्यभार पूरा गर्न कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भनेका छन् ।

शान्ति सम्झौताको मूल मर्म समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुुक्त समावेशी गणतन्त्रको स्थापना गर्नु रहेको उल्लेख गर्दै प्रचण्डले अहिले ‘जेनजी’ युवा पुस्ताले समेत यही मूल्य, भावना र ‘स्पिरिट’का साथ आवाज उठाइरहेको बताए । ‘शान्ति सम्झौताको आत्माअनुरूप शासकीय प्रणाली, शासन सञ्चालन तथा संविधानको आवश्यक परिमार्जन गर्न सके मात्र युवाको आकाङ्क्षा सम्बोधन हुन सक्छ भन्ने दृढ विश्वास छ’, उनले भनेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले विगतको गम्भीर समीक्षा गर्दै वर्तमान नेपाली समाजमा देखापरेका समस्या समाधान गर्न सबै पक्षको एकताबद्ध प्रयासका लागि अपिलसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्