Logo
Logo

मुख्यसचिवमा पुस्कर कसरी रोकिए ?


32.3k
Shares

काठमाडौं । सुमनराज अर्याल मुख्यसचिव नियुक्त भएपछि सो पद प्राप्त गर्न दौडधूप गरेकाहरु हतोत्साही भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई खुृसी पारी मुख्यसचिव हुने कुरामा ढुक्कजस्तै भएका सचिव कृष्णहरि पुस्कर कर्णलाई ठूलो झड्का लागेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव रहेका पुस्कर मुख्यसचिव नियुक्तिका लागि अन्तर्राष्ट्रिय समर्थन समेत प्राप्त भएको भन्दै हौसिएका थिए ।

गैरआवासीय नेपाली संघ(एनआरएनए)का नेताहरुदेखि भारतीय दूताबासका अधिकारीहरुको नियमित सम्पर्कमा रहेको बताउने उनले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हामार्फत् प्रधानमन्त्री कार्कीलाई लबिङ गर्दैआएका थिए । सिन्हा र कर्ण एकै जातिका भएकाले त्यो नाताले पनि उनले लबिङ गर्दैआएका थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्करले प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठसँग मुख्यसचिव बनाउनका लागि चरण चरणमा भेटघाट गरेका थिए । पुस्करको प्रभावमा परेपछि आदर्शले प्रधानमन्त्री कार्कीमाथि पुस्करजस्ता विवादित सचिवलाई मुख्यसचिव बनाउन दबाब बढाउँदै लगेपछि उनले श्रीमती र अन्य आफन्तहरुलाई नियुक्ति दिएको सूचना प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाटै मिडियामा चुहाएर रक्षात्मक बनाइएको स्रोत बताउँछ ।

पुस्कर अति नै विवादित सचिव हुन् । लोकमानसिंह कार्कीको कार्यकालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेका पुस्करले डा. गोविन्द केसीलाई ‘पागल’ उल्लेख गरी विज्ञप्ति जारी गरेको, सचिवहरुलाई बोलाएर हप्काएका बिषयमा प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल जानकार थिए । स्रोतका अनुसार लोकमानका विश्वासपात्र कृष्णहरिको चलखेलले सीमा नाघेपछि नै उनले श्रीमती र आफन्तको लर्को नै प्रधानमन्त्री कार्यालयमा भर्ति गरेको समाचार मिडियामा प्रधानमन्त्री कार्कीको सचिवालयबाट लिक गराइएको थियो ।

कृष्णहरि पुष्कर अझै पनि आगामी असारमा मुख्यसचिव हुने दाउमा छन् । मुख्यसचिव सुमनराज अर्यालभन्दा २ दिनअघि आगामी असारमा अवकाश हुने कृष्णहरि उनलाई एक साताअघि राजीनामा गराउने वातावरण तयार गर्ने र मुख्यसचिव हुने षड्यन्त्रमा लागिसकेका छन् ।

मुख्यसचिवका लागि सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरुले आ–आफ्ना निकट सचिवहरुको नाम लिने गरेका थिए । गृहमन्त्री ओमप्रकाश अर्याल सुरुदेखि नै सुमनराज अर्यालप्रति सकारात्मक थिए । उनलाई बनाउनका लागि ओमप्रकाश लागिरहेका थिए । गृहमन्त्री ओमप्रकाशले सुमनको पक्षमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालको समेत समर्थन लिएका थिए । संचार मन्त्री जगदिश खरेल र भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङको रोजाइमा प्राविधिक सचिव प्रमिला बज्राचार्य परेकी थिइन् । बज्राचार्य खानेपानी मन्त्रालयमा सचिव छन् ।

कृष्णहरि पुष्कर अझै पनि आगामी असारमा मुख्यसचिव हुने दाउमा छन् । मुख्यसचिव सुमनराज अर्यालभन्दा २ दिनअघि आगामी असारमा अवकाश हुने कृष्णहरि उनलाई एक साताअघि राजीनामा गराउने वातावरण तयार गर्ने र मुख्यसचिव हुने षड्यन्त्रमा लागिसकेका छन् ।

त्यसैगरी, कृषिमन्त्री डा मदन परियार मुख्यसचिव नियुक्तिको समयमा विदेश भ्रमणमै भएकाले उनको चासो रहने कुरा भएन । तथ्यांक कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी मुख्यसचिव बढुवा हुनका लागि प्रधानमन्त्रीदेखि मन्त्रीहरु सबैलाई एकसरो भेटघाट गर्न पुगेका थिए । आफू दलहरुको सरकारबाट पीडित भएकाले मुख्यसचिव नियुक्तिका लागि योग्य भएको दलील पेश गर्देआएका थिए । बुर्लाकोटी सहसचिव हुँदादेखि नै सरुवा भएका कार्यालयमा ६ महिना पनि नटिक्ने भनेर चर्चित छन् ।

रोचक पक्ष त के छ भने जेनजी आन्दोलनको बलमा गठन भएको कार्की नेतृत्वको नागरिक सरकारलाई सहजरुपमा काम गर्न दिनका लागि अवकाश पाउनु २ महिनाअघि नै राजीनामा दिने तयारी गरेका पूर्व मुख्यसचिव एकनारायण अर्यालले एक दिन पनि बिदा नलिई पूरै कार्यकाल बिताएर अवकाश लिएपछि प्रतिस्पर्धामा रहेका सचिवहरु नै आश्चर्यमा परेका थिए ।

पछिल्लो समय प्रधानमन्त्री सुशीला कार्कीसँग सम्बन्ध सुमधुर बनाउन सफल भएका एकनारायणले अन्तिम समयसम्म आफ्नो स्वार्थ जोडिएका कामहरु गरेर बिदा भएका छन् । उनको बिदाइ समारोहमा प्रधानमन्त्री कार्कीले ब्यक्त गरेका बिचारहरु सुन्दा अर्यालसँगको सम्बन्ध निकै लामो र सुमधुर रहेको जस्तो सबैले गरेका थिए । बिदाइ समारोहमा सरीक एक सचिवका अनुसार अर्यालप्रति लिखित सम्बोधनमा प्रकट बिचारहरु उनै एकनाराणले तयार गरिदिएका थिए । उनले अर्यालको ब्यक्तिगत र पारिवारिक बिषयमा खुलेरै प्रशंसा गरेकी थिइन् ।

जेनजीको सरकार गठन भएलगत्तै मुख्यसचिवबाट बर्खास्त गर्नेसम्मको तयारीमा रहेकी कार्कीले बिदाइ सम्बोधनमा मुक्तकण्ठले प्रशंसा गरेर सहभागी सबैलाई चकित पारिदिएकी छन् । अर्याल निवृत्त भएपछि सबंंैधानिक पदमा नियुक्ति हुने दौडमा छन् । संबैधानिक परिषदसम्बन्धी अध्यादेश पनि उनकै जोडबलमा राष्ट्रपति समक्ष पठाइएको छ । तर मन्त्रिपरिषदबाट संविधानबिपरीत अध्यादेश पेश भएकाले जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलमाथि चर्को दबाब परिरहेको छ ।

नयाँ मुख्यसचिवमा नियुक्त भएपछि सुमनराज अर्याल प्रधानमन्त्री कार्कीसमेतलाई लिएर शुक्रबार सेनाको मुख्यालय जंगीअड्डा पुग्नुलाई पनि आश्चर्यका रुपमा लिइएको छ । रक्षा मन्त्रालयको सचिव हुँदासमेत प्रधानमन्त्री कार्कीलाई जंगीअड्डा लान आवश्यक नठानेका अर्यालले मुख्यसचिव नियुक्त भएपछि भने हतार हतार भद्रकाली लगेका छन् ।

प्रतिक्रिया दिनुहोस्