काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता गरेका र २० फागुनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा मत हाल्न पाउने भएका छन् । निर्वाचन आयोगको २० मङ्सिरको निर्णय अनुसार सो व्यवस्था गरेको हो ।

‘प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने सम्बन्धमा २० फागुनसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति निर्धारण गरी मिति २०८२/८/५ सम्म देशभरबाट सङ्कलित मतदाताको विवरणलाई अद्यावधिक गर्ने गरी आयोगबाट मिति २०८२/८/२० मा निर्णय भएको छ,’ आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम अन्तर्गत सङ्कलित मतदाताको विवरण आयोगको वेबसाइटमा प्रकाशन भएपछि २६ मङ्सिरसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिन सकिनेछ ।











