Logo
Logo

समाज कल्याण गुठी विष्णुडोलको स्मारिका विमोचन


252
Shares

ललितपुर । देशकै उदाहरणीय गुठीको परिचय बनाएको समाज कल्याण गुठी विष्णुडोलको स्मारिका विमोचन भयो। शनिबार महालक्ष्मी नगरपालिका–८ मा २०४६ सालमा गठन भएको गुठीको नवौँ साधारण सभामा स्मारिका विमोचन भएको हो।

स्मारिका विमोचन विष्णुडोलका ज्येष्ठ नागरिक ९३ वर्षीय श्यामबहादुर खत्री र प्रमुख अतिथि गुठीका ज्येष्ठ सदस्य भुवनबहादुर बस्नेतले गरे। स्मारिकामा गुठीको ३७ वर्ष लामो इतिहासका घटनादेखि विष्णुडोल गाउँका ऐतिहासिक दस्तावेजसहितका लेखहरू समावेश छन्। स्मारिका आफैँमा ऐतिहासिक दस्तावेजका रूपमा रहने सम्पादक इन्द्रबहादुर खत्रीले बताए।

१९२ पृष्ठको स्मारिकामा ऐतिहासिक दस्तावेज र तस्बिरहरू समेत थप पृष्ठमा छन्। स्मारिकाले नेपालको गुठी प्रथाको इतिहास, महत्त्व र विशेषताका अलावा विष्णुडोल गाउँमा यसको पृथक् अभ्यासबारे तथ्यसहित व्याख्या गरिएका लेखहरू समावेश गरेको छ। विष्णुडोलमा भएका सामाजिक र आर्थिक संस्थागत गतिविधिबारे पनि उल्लेख छ।

यसअघि समाज कल्याण गुठीको नवौँ वार्षिक साधारण सभामा अध्यक्ष कुबेर केसीले गुठीले विगत वर्षमा गरेका काम र भावी योजनाबारे प्रकाश पारे। उनले यो कार्यकालमा गुठीको सम्पत्ति संरक्षणदेखि इतिहासको दस्तावेज संरक्षण गरी स्मारिकाका रूपमा प्रकाशन गरिएको बताए।

सचिव विवेककुमार कार्कीले उद्घोषण तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरे। उनले भावी कार्यदिशाबारे पनि जानकारी दिए। कोषाध्यक्ष भीमसेन खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे।

साधारण सभामा गुठीका परिकल्पनाकार ध्रुव विष्ट, संस्थापक अध्यक्ष नारायण खत्री, पूर्व अध्यक्षहरू लक्ष्मण कार्की, यक्षकुमार बस्नेत, प्रल्हाद विष्ट, गुठी स्मारिकाका सम्पादक इन्द्रबहादुर खत्रीलगायत अतिथिका रूपमा सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्