काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको वामपन्थी आन्दोलनलाई एकीकृत र सुदृढ बनाउन जोड दिएका छन् । उनले वामपन्थी एकता र एकीकरणलाई पार्टीको महत्त्वपूर्ण कार्यभारका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका हुन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुझाइएको पोखरेल समूहको अवधारणापत्रमा एमाले-माओवादी केन्द्रबीच २०७५ मा भएको एकीकरण किन असफल भयो भन्ने विषयको गम्भीर समीक्षा गर्नुपर्ने उल्लेख छ । अवधारणापत्रमा भनिएको छ, ‘जुनबेला वामपन्थीबीच एकता, सहकार्य र संयुक्त मोर्चा भएको छ, त्यसबेला जनताको विश्वास र आन्दोलनको प्रभाव बढेको छ । तर फुट, विभाजन र अनावश्यक द्वन्द्व हुँदा जनविश्वास घटेको र राष्ट्रले पनि क्षति बेहोरेको छ ।’
पोखरेलले पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य र जननेता मदन भण्डारीले आफ्नो समयमा वाम एकताका लागि खेलेको ऐतिहासिक भूमिका स्मरण गर्दै भनेका छन्, ‘विगतमा भएको एमाले-माओवादी एकतालाई ‘ऐतिहासिक’ भनिए पनि अपरिपक्व र अव्यवस्थित तयारीका कारण त्यो टिक्न सकेन । यसको इमानदार समीक्षा बिना नयता अगाडि बढ्न सकिँदैन ।’
अवधारणापत्रमा हरेक महाधिवेशनमा संयुक्त वाम मोर्चा र एकताको विषय उठ्ने गरे पनि पछिल्ला वर्षमा यो ओझेल परेको उल्लेख गर्दै अब गम्भीर बहस गर्नुपर्ने तर्क अघि सारिएको छ । मदन भण्डारीले पाँचौँ महाधिवेशनमा प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद (जबज) भित्रको वाम एकताको विश्लेषणलाई वर्तमान सन्दर्भमा परिष्कृत गर्नुपर्नेमा पनि जोड दिइएको छ । अन्तमा पोखरेल समूहले आगामी महाधिवेशनले जबजलाई आधार बनाएर एमालेको नेतृत्वमा सम्पूर्ण वाम शक्तिहरूको एकता र एकीकरणलाई प्रमुख कार्यसूची बनाउनुपर्ने र सबै वामपन्थी शक्ति तथा व्यक्तिलाई एमालेसँग जोडिन हार्दिक अपिल गरेको छ ।











