Logo
Logo

ओलीबाट महिलाप्रति अपमानमात्रै भयो, यस्तो नेतृत्व चाहिँदैन: अष्टलक्ष्मी शाक्य


1k
Shares

काठमाडौं । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले महिलाप्रति पटक-पटक अपमानजनक व्यवहार गर्दै आएको आरोप लगाएकी छिन् ।

एमालेको आसन्न ११औँ महाधिवेशनको सन्दर्भमा मङ्गलवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘धामीझाँक्री’ भनी गरेको टिप्पणीप्रति कडा आपत्ति जनाइन् । उनले भनिन्, ‘गणतन्त्र नेपालको प्रधानमन्त्री भइसकेको व्यक्तिले देशको पहिलो महिला राष्ट्रपतिलाई बारम्बार अपमानजनक शब्दले सम्बोधन गर्नु लज्जास्पद छ । उहाँमा महिलाप्रति सम्मानजनक दृष्टिकोण नै छैन ।’ शाक्यले थपिन्, ‘आधा भन्दा बढी जनसङ्ख्या ओगटेका महिलाहरूमाथि हिंसा र विभेदविरुद्ध विश्वव्यापी अभियान चलिरहेका बेला यस्तो अभिव्यक्ति दिनु सम्पूर्ण नेपाली महिलाको अपमान हो। यसविरुद्ध सशक्त आवाज उठ्नै पर्छ ।’

उनले पूर्वराष्ट्रपति भण्डारीलाई ‘धामीझाँक्री’, ‘झर्ल्याङ–झर्ल्याङ घुमरौं लाएर मुजुरको प्वाख लगाएर आएकी’ जस्ता व्यङ्ग्यपूर्ण अभिव्यक्ति अध्यक्ष ओलीले सार्वजनिक रूपमै प्रयोग गरेको स्मरण गराइन् । ‘देशको परमाधिपति, संविधानको संरक्षक र पहिलो महिला राष्ट्रपतिलाई यति तल्लो स्तरको शब्दले अपमान गर्नु कुनै पनि जिम्मेवार नेतृत्वलाई शोभा दिँदैन,’ शाक्यले आक्रोश पोखिन्, ‘सामान्य महिलालाई पनि यस्तो भन्न मिल्दैन भने राष्ट्रपति भइसकेकी महिलालाई यति घृणित तरिकाले प्रस्तुत गर्नु भनेको केपी ओलीलाई मात्रै स्वीकार्य छ ।’

उपाध्यक्ष शाक्यले महिलालाई निरन्तर अपमान र अवमूल्यन गर्ने नेतृत्व अबको आवश्यकता नभएको स्पष्ट पारिन् । उनले भनिन्, ‘महिलालाई सम्मान गर्न नजान्ने, अपमान गर्नमात्रै पोख्त नेतृत्व आजको एमाले र देशको आवश्यकता होइन । यो मुद्दालाई महाधिवेशनमा जल्दोबल्दो रूपमा उठाउनुपर्छ ।’ अध्यक्ष ओलीले केही दिनअघि मात्र सञ्चारमाध्यममा पूर्वराष्ट्रपति भण्डारीले पार्टी महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दिन खोजेको प्रसङ्ग जोड्दै व्यङ्ग्यपूर्ण शैलीमा उक्त अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर पार्टीभित्रै असन्तुष्टि र आलोचना बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्