
काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली भएका हितेन्द्रदेव शाक्यले पदबहाली गरेका छन्।
उनले आज प्राधिकरणको कार्यालयमा पुगेर पदबहाली गरेका हुन् । पदबहाली गरेलगत्तै उनले देशको महत्वपूर्ण सबस्टेसनको रूपमा रहेको दुहबी सबस्टेसनका लागि आवश्यक ’स्पेयर पाट्र्स’ (जगेडा पुर्जा) खरिद गर्ने निर्णय सदर गरेका छन् ।
पदबहालीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाक्यले दुहबी सबस्टेसनको काम अत्यन्त जरुरी रहेकोले फटाफट अघि बढाउन आफूले पहिलो निर्णयका रूपमा यसलाई सदर गरेको बताए ।
आफूले भोग्नुपरेको कानुनी झमेला र दुर्घटना अरू कुनै कारणले नभई केवल प्राधिकरणको एमडी पदमा रहेकै कारण सिर्जना भएको उनले स्पष्ट पारे। उनले भने, ’प्राधिकरणको एमडी भएकै नाताले मैले त्यो दुर्घटना व्यहोर्नुपर्यो। करिब अढाई महिनाको दुःखद् समयपछि अदालतबाट न्याय पाएर फर्किएको छु।’
उनले अबको कार्यकालमा पहिलेभन्दा बढी जोस र इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल सरकारको नीति निर्देशन र प्राधिकरणको हितलाई सर्वोपरि ठानेर अघि बढ्ने बताए।











