काठमाडौं । १४ वर्षअघिको रक्तचन्दन तस्करीको घटनामा संलग्न भएका ठेकेदार नवीराज बस्नेत पक्राउ परेका छन् ।
उनलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । बस्नेतलाई शुक्रबार राति मेरियट होटेलबाट पक्राउ गरिएको सीआईबीका एआईजी उमा चतुर्वेदीले जानकारी दिए ।

यसअघि उनलाई वतन नखुलेको भन्दै रक्तचन्दन तस्करीमा मुद्दा चलाइएको थिएन । रक्तचन्दन बरामद भएको ट्रकका चालक र सहचालक भने जेल चलान भएका थिए । उनीहरु निस्किसकेका छन् ।
बस्नेतका हकमा भने यकिन वतन खुल्न बाँकी नै रहेको भन्दै खुलेका बखत मुद्दा लैजाने गरी मुद्दा दर्ता गरिएको थियो । हाल सम्पत्ति सुद्धीकरण छानबिन हुँदा बस्नेतको ठेगाना खुलेपछि तामेली जगाएर अदालत उपस्थित गराउन सम्पत्ति शुद्धीकरण विभागले पत्राचार गरेको थियो ।













