Logo
Logo

यती समूहका प्रमुख शेर्पालाई पक्राउ गर्न अनुमति


4.9k
Shares

काठमाडौं । नेपाल ट्रस्टको जग्गा लिजमा लिँदा भएको ठगी प्रकरणमा यती समूहका प्रमुख तथा थामसेर्कु ट्रेकिङ कम्पनीका अध्यक्ष लाक्पा सोनाम शेर्पालाई पक्राउ गर्न जिल्ला अदालतबाट अनुमति भएपनि सिआईबीले उनलाई पक्राउ गर्न सकेको छैन ।

गत २६ कात्तिकमा जिल्ला अदालत काठमाडौंले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो । तर, त्यसविरुद्ध थामसेर्कु ट्रेकिङले उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएपछि न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले गत २ मंसिरमा उनलाई पक्राउ नगर्न अन्तरिम आदेश गर्यो ।

सो आदेशपछि शेर्पा मोबाइल स्विच्ड अफ गरेर भूमिगत भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)का एक अधिकारीले बताए । प्रहरीले उनको बयान समेत लिन सकेको छैन । उच्चको आदेशविरुद्ध सीआईबी भने भ्याकेटमा गएको छ ।

ट्रस्टका कर्मचारीसँगको मिलेमतोमा शेर्पाले नारायणहिटी दरबारअगाडिको सडक विभागको तीन आना तीन पैसा जग्गासमेत हत्याएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

सिआईबी प्रमुख मनोज केसीले ट्रस्टको जग्गा थामसेर्कु ट्रेकिङलाई लिजमा दिँदा शृंखलाबद्ध रुपमा बदमासी भएको पाइएकाे र यसबाट राज्यलाई ठूलो नोक्सानी भएको देखिएको बताए ।

‘ट्रस्टको जग्गा थामसेर्कु ट्रेकिङलाई लिजमा दिँदा शृंखलाबद्ध रुपमा बदमासी भएको पाईएको छ । सडक विभागको नाममा रहेको जग्गा समेत थपेर लिजमा दिनेदेखि पछि कागजपत्र हेरफेरसम्म गरिएका छन्,’ उनले भने, ‘यसमा हामीले संगठित अपराधमा अनुसन्धानका लागि अदालतबाट अनुमति पाएका छौं । यससँगै गर्दै छौं । यो प्रकरणमा जोडिएका सबैमाथि विस्तृत छानविन गर्छौ ।’

लिज सम्झौताका क्रममा नेपाल ट्रस्टको कानुन शाखाले नै प्रक्रिया कानुनविपरीत रहेको भन्दै जमानत जफत गर्न सिफारिस गरेको थियो । उपसचिव पुरुषोत्तम खतिवडाले २० चैत ०७३ मा थामसेर्कुले बदमासी गरेको भन्दै उसको जमानत जफत गर्ने पक्रिया अघि बढाउन टिप्प्णी लेखेका थिए ।

तर, तत्कालिन सचिव अर्जुन कार्कीले त्यसलाई अघि बढाएनन्, बरु लेखा शाखाबाट अर्को टिप्पणी लेख्न लगाएर कानुनविपरीत थामसेर्कुलाई जग्गा लिजमा दिएका थिए ।

थामसेर्कुले लिजमा लिएको दरबारमार्गस्थित ट्रस्टको जग्गामा भवन बनाएर व्यापारिक प्रयोजनमा लगाएको छ । तर, लिज सम्झौता गर्दा ‘सेटिङ’ गरेर मूल सडकपट्टि (पूर्वतर्फ) रहेको सडक विभागको जग्गासमेत कब्जा गरेको अनुसन्धानमा खुलेको हो ।

कर्मचारीसँगको मिलेमतोमा राज्यलाई ठग्ने काम भएकाले ठगीका साथै आपराधिक विश्वासघात मुद्दामा पनि सिआइबीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्