काठमाडौं । चेपाङ समुदायका विद्यार्थीहरूको सहभागितामा निर्मित ‘स्लिपर्स टु स्याट’ नामक नानो स्याटेलाइट आज बिहान चीनबाट सफलतापूर्वक प्रक्षेपण गरिएको छ । बिहान पौने १० बजे उडान भरेको यस स्याटेलाइटले प्रक्षेपणपछि केही क्षणमै अन्तरिक्ष यात्रा पूरा गरिसकेको प्रोजेक्ट म्यानेजर रिसभ अधिकारीले जानकारी दिए।

‘स्याटेलाइट अन्तरिक्षमा पुगेको छ। दिउँसो १२ बजेतिर ग्राउन्ड स्टेशनसँग पहिलो अनलाइन कनेक्सन हुनेछ । पहिलो कनेक्सन स्थापित भएपछि परियोजनाको प्रारम्भिक सफलता मानिन्छ,’ अधिकारीले बताए ।
ट्युब आकारको एक किलो २० ग्राम तौलको यो नानो स्याटेलाइटमा दुईवटा उच्च क्षमताका क्यामेरा जडान गरिएका छन्, जसले नेपालका वनस्पति आवरण, जलस्रोत, तथा अन्य भू–उपग्रह सम्बन्धी सूचनाका वास्तविक समयका तस्वीर र डेटा संकलन गर्न सक्षम छन् ।

यस स्याटेलाइटमा भूकम्पका लागि पूर्वसूचना दिने विशेष प्रविधि समेत समावेश गरिएको छ। भूकम्प अघिल्लो क्षणमा उत्पन्न हुने सूक्ष्म इलेक्ट्रोम्याग्नेटिक तरङ्ग मापन गरी सम्भावित जोखिमबारे संकेत दिने क्षमतासहितको प्रणाली यसमा जडान गरिएको प्रोजेक्ट म्यानेजर अधिकारीले बताए ।
यसबाहेक, स्याटेलाइटमा रहेको विद्युतीय चुम्बकीय प्रणाली ९इलेक्ट्रोम्याग्नेट० ले पृथ्वीबाटै यसको गति घटाउने वा कक्ष परिवर्तन गर्ने सुविधा प्रदान गर्छ।
पहिले तयारीमा राखिएको योजना अनुसार स्याटेलाइट कम्तीमा पाँच वर्ष सञ्चालनमा रहने अपेक्षा थियो। तर हाल सूर्य २५औँ सौर्य चक्रको उच्चतम बिन्दु ९सोलार म्याक्सिमम० मा रहेका कारण अत्यधिक सौर्य विकिरणका कारण यसको कक्षीय आयु छोटिन सक्ने जोखिम बढेको छ। यसले गर्दा अब यो स्याटेलाइट करिब डेढ वर्षसम्म मात्र सक्रिय रहने अनुमान गरिएको छ ।
यो परियोजना एमेच्योर रेडियो डिजिटल कम्युनिकेसनको प्राविधिक सहयोगमा सम्पन्न भएको हो, जसमा चितवनका चेपाङ बालबालिकालाई प्रत्यक्ष रूपमा सहभागी गराइएको थियो ।
स्याटेलाइटले प्रसारित सबै डेटा विश्वभरका वैध एमेच्योर रेडियो फ्रिक्वेन्सी लाइसेन्सधारीहरूलाई निःशुल्क उपलब्ध हुनेछ। ‘स्लिपर्स टु स्याट’ नेपालमा निजी क्षेत्रको समन्वयमा निर्माण भएको तेस्रो स्याटेलाइट मानिन्छ ।











