काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कांग्रेस-कम्युनिस्टहरूले ३५/३६ वर्ष देश सञ्चालन गरेको तर त्यसप्रति जनतामा सन्तुष्टि नरहेको टिप्पणी गरेका छन् ।

बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले विगतका राजनीतिक दलहरूप्रति जनविश्वास कमजोर बनेको दाबी गरे ।
लिङ्देनका अनुसार देशले विगतका उपलब्धि जोगाउँदै नयाँ राजनीतिक समझदारी निर्माण गर्न सके मात्र राष्ट्रिय स्थायित्व सम्भव छ । ‘२००७ सालले ल्याएको प्रजातन्त्र, २०४६ सालले दिएको बहुदलीय प्रतिस्पर्धा, र २०६२र६३ को परिवर्तनले स्थापित समावेशी–समानुपातिक प्रणाली सुरक्षित गर्दै नेपाल सुहाउने मौलिक व्यवस्था निर्माण गर्नैपर्छ, नत्र देश दुर्घटनातिर धकेलिन सक्छ,’ उनले चेतावनी दिए ।
सत्तामा रहेका दलहरूलाई पटक–पटक सच्चिन आग्रह गर्दा पनि बेवास्ता भएकै कारण व्यवस्थाको असफलता देखिएको उनले दाबी गरे। ‘नसच्चिने हो भने भाग्नै पर्छ भन्थ्यौं । दौडिन नसक्नेले हेलिकप्टर चढेर भाग्न सक्छ भनेर चेतावनी दियौं । धेरै समय नबित्दै त्यो दृश्य देख्नुपर्यो,’ उनले कटाक्ष गरे ।
उनको भनाइमा कार्यपालिका, न्यायपालिका र विधायिका कमजोर भइसकेको अवस्था तथा प्रधानमन्त्रीसमक्ष प्रदर्शनकारी आइपुगेको खबर नपहुँच्नु नै राज्यको दुर्बलताको प्रमाण हो । नेपाल भू–राजनीतिक चक्रव्यूहमा कसरी फसेको छ भन्ने पनि पछिल्लो घटनाले स्पष्ट पारेको अध्यक्ष लिङ्देनको टिप्पणी छ ।
राप्रपाले नेपालको निर्णायकत्व नेपाली जनताको हातमै हुनुपर्ने माग निरन्तर उठाउँदै आएको उनले दोहोर्याए ।











