Logo
Logo

नियतवस उत्तरी नाका ५ महिनादेखि ठप्प


1.1k
Shares


काठमाडौं । नेपालको उत्तरी नाका विगत ५ महिनादेखि बन्द छ । चीनसँग सीमा जोडिएको रसुवा र तातोपानी नाका बन्द हुँदा अर्वौँको राजस्व घाटा भएको छ । चीनसँग काठमाडौं जोड्ने यी दुई मुख्य नाका महिनौदेखि बन्द हुँदा पनि नाका खुलाउने प्रयासमा नेपाल सरकारले चासो दिएको छैन । रसुवा नाका ठप्प हुँदा २० अर्वभन्दा बढी राजस्व गुमेको छ ।

गत असार २४ गते राती ल्हेन्दे खोलामा आएको बाढीले रसुवा नाका पुरै क्षति भएका कारण बन्द भएको थियो । उक्त नाकामा चिनियाँ पक्षले ‘बेलिब्रिज’ निर्माण सम्पन्न गरिसकेको छ । तर, उक्त नाका सञ्चालनमा नआउदा व्यापारीहरूले तातोपानी नाका र मुस्ताङको कोरोला नाकाबाट दशैँमा सामान आयात गरेका थिए ।

यता, तातोपानी नाका नेपाल तर्फको कोदारी (अरनिको) राजमार्ग अन्तर्गत पर्ने तातोपानी नजिकै पहिरो गएका कारण पाँच महिनादेखि बन्द भए पनि नेपाल सरकारले समयमै सडक निर्माण गर्न चासो नदिदा तातोपानीमै कन्टेनरहरू अड्किएर बसेका छन् ।

नेपाल सरकारले समयमै कोदारी राजमार्ग सुचारु गर्नेतर्फ ध्यान नदिएकाले चिनियाँ पक्षले पनि हप्ताको दुई पटक मात्र खासाबाट कन्टेनर पठाउने गरेको छ । जसबाट नेपाल सरकारलाई अर्वौँ राजस्व घाटा भएको छ । खासा नाकाबाट मात्र वार्षिक २५ अर्वभन्दा बढी राजस्व उठ्ने लक्ष्य राखिएको थियो ।

रसुवा र तातोपानी नाकाबाट सामान आउन रोकिएपछि व्यापारीहरूले चिनियाँ सामान कोलकत्ता हुँदै नेपाल भित्र्याउने तयारी गरेका छन् । जाडो मौसम सुरु भएकाले पनि उत्तरी नाकाबाट कन्टेनर ल्याउन कठिन भएकाले विकल्पमा कोलकत्ताबाट सामान ल्याउन सजिलो हुने बुझाइ व्यापारीहरूको रहेको छ ।

रसुवा भन्सारतर्फ ‘बेलिब्रिज’ तयार भए पनि उक्त नाका सुचारु गर्न नेपाल सरकारले चिनियाँ पक्षसँग समन्वय नगरेको गुनासो छ । तातोपानी नाकाको नेपाल खण्डमा पटक पटक पहिरो गएर राजमार्ग अवरुद्ध हुनु र रसुवा नाका सुचारु गर्नमा नेपाल सरकारले ध्यान नदिनु नेपाल सरकारकै ‘नियत’ उत्तरी नाका अघोषित रुपमा ठप्प पार्न खोजिएको त होइन भन्ने शंका उठेको छ ।

विगत केही वर्षदेखि चिनियाँ सामानलाई नेपाली बजारमा निरुत्साहित गर्न नेपाल सरकारले व्यापारीहरूलाई दुःख दिँदै आएको आरोप छ । खासगरी चीनबाट आयात हुने विद्युतीय सवारीलाई नियन्त्रण गर्न नेपाल सरकारले विभिन्न झन्झट दिएको व्यापारीहरूको आरोप छ ।

चीनबाट आयात हुने विद्युतीय सवारीमाथि भन्सार विभागले दुःख दिएको छ भने त्यही सामान भारत हुँदै आएको खण्डमा वास्ता गरेको छैन । यसबाट नेपाल सरकारले एकपक्षीय रुपमा चिनियाँ सामानलाई नेपाली बजारमा निरुत्साहित गर्न खोजेको आरोप व्यापारीहरूले लगाएका छन् । यि दुई नाका ठप्प हुँदा नेपाल–चीन सम्बन्धमै शंका उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्