काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौं महाधिवेशनमा नेतृत्व चयनमा सहमति हुनसक्ने सम्भावना रहेको बताएका छन् ।

बुधबार राजधानीमा सञ्चारकर्मीहरूसँगको अन्तक्रियामा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको हलमा औपचारिक रूपमा नयाँ नेतृत्व घोषणा गरेमा आफूले कुनै आपत्ति नराख्ने स्पष्ट पारे ।
पोखरेलका अनुसार, ‘सहमति हुनसक्छ । तर हालको सन्दर्भमा पार्टी अध्यक्षले अभिभावकीय भूमिका निभाउनु, संरक्षकको रूपमा बस्नु आवश्यक छ । उनले हलमै नयाँ नेतृत्व घोषणा गरे भने सहमति सम्भव छ, अन्य हिसाबले होइन ।’
उनलाई सोधिएको ‘यदि तपाईं बाहेक अरुलाई रोजियो भने मान्न तयार हुनुहुन्छ ? ’ प्रश्नको जवाफमा उनले भने, ‘यदि उनले आफू हटेर निर्णय गरे भने मेरो कुनै अब्जेक्सन हुनेछैन ।’
पोखरेलले एघारौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्, तर प्यालन घोषणा हुने वा नहुने विषयमा उनले खुलाएका छैनन् ।











